कीवर्डहरू -

कर्णालीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना

कर्णालीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना

कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने र महामारी तथा विपदमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

युवालाई शैक्षिक प्रमाणपत्र राखि सहुलियत ऋण दिने व्यवस्था मिलाइने पनि बताइएको छ । नीति तथा कार्यक्रमका अनुसार प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट र आयोजनाहरुको नियमित अनुगमन तथा सुपरीवेक्षणका लागि एकीकृत अनलाइन प्रणालीको स्थापना र सञ्चालन गरिने छ ।

साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा भइरहेका नविनतम अभ्यास र प्रयोगहरुलाई प्रोत्साहन गर्न वैज्ञानिक खोज तथा अनुसन्धानका कार्यहरु गरिरहेका संस्थाहरुसँगको सहकार्यमा नवप्रवर्तन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नीति तथा कार्यक्रममा प्रदेश सरकार मातहतका निकायहरूमा सूचना प्रविधिमा आधारित स्वाचालित कार्य प्रणाली मार्फत सेवा प्रवाह गर्ने व्यवस्था क्रमश कार्यान्यन गर्दै लगिने बताइएको छ ।

विद्युतीय शासन गुरूयोजना तयार गरी क्रमशः डिजिटल कर्णाली सोच साकार पार्न प्रदेश सरकारका कामकाजलाई प्रविधिमैत्री बनाउँदै लगिने समेत उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘प्रदेश सरकारको सेवा प्रवाह, सुरक्षा व्यवस्था लगायत अन्य व्यवस्थापकीय कार्यमा विद्युतीय शासन प्रणालीको प्रयोगलाई उच्च दिइनेछ । प्रदेशको एकीकृत एप्लिकेसन निर्माण गरी प्रदेश सरकारका सूचना तथा सेवा विद्युतीय माध्यमबाट गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।