कीवर्डहरू -

को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ? 

को हुन् क्लबहाउसको लोगोमा राखिएकी महिला ? 

के तपाईंले क्लबहाउस एप डाउनलोड गर्नुभएको छ ? छ भने पक्कै पनि क्लबहाउसको लोगोमा एक महिलाको ‘पोट्रेट’ देख्नुभएको होला ।

विश्व चर्चित एपले आफ्नो लोगोमा महिलाको तस्बिर किन राख्यो त ? उनी को हुन् ? धेरैको मनमा यो जिज्ञासा हुनसक्छ।

क्लबहाउसको लोगोमा रहेकी महिला हुन् ड्रयूइ कटाओका (Drue Kataoka) । उनी प्रख्यात एसियाली अमेरिकी कलाकार तथा अभियानकर्ता हुन् । उनी भिजुअल आर्टिष्ट, ‘टेक्नोलोजिष्ट’ र सामाजिक अभियान्ता हुन् ।

उनको मन्त्र छ, ‘प्रविधि एक कला हो र कला एक प्रविधि’ । उनी यस एपमा प्रयोग भएकी पहिलो दृश्य कलाकार र एसियाली अमेरिकी महिला हुन्  भने  यस स्थानका लागि छनौट भएकी आठौँ व्यक्ति पनि हुन् ।

कटाओका यस एपकी प्रारम्भिक प्रयोगकर्ता पनि हुन् । उनी यस एपसँग मार्च, २०२० देखिनै आवद्ध रहेकी छिन् । उनी एपकै लोगोमा अझै केही हप्तासम्म रहने छिन् ।

क्लब हाउसमा उनीले द किङ सेन्टरका सिईओ डा. बर्निस किङसँग सहकार्य गरेर ‘ह्यासट्याग स्टप एसियन हेट’ #StopAsianHate र ह्यासट्याग ट्वेन्टीफोर आवर्स अफ लभ #24HoursofLove भन्ने अभियानका लागि एक लाख डलरभन्दा बढि रकम जम्मा पार्न सफल भएकी थिइन् ।

‘ह्यासट्याग स्टप एसियन हेट’ले जातीय भेदभावको विरुद्धमा आवाज उठाउने गर्छ । उनीले एपको नेतृत्व टोलीलाई क्लबहाउसमा कुनै अभियान वा गैर नाफा संस्थाहरुलाई पैसा दिन मिल्ने फिचर ल्याउनका लागि पनि निरन्तर आग्रह गरिरहेकी छिन् ।

अमेरिकामा एसियाका मान्छेहरुलाई भेदभाव गरेको विरुद्ध अभियानहरु चलिरहँदा क्लबहाउसले सही समयमा नै एक एसियाली अमेरिकी दृश्य कलाकार तथा अभियानकर्तालाई लोगोमा ठाउँ दिने सही निणर्य गरेको अन्तर्राष्ट्रिय समाचाहरुले लेखेका छन् ।

कटाओकाले झण्डै आफ्नो ७ लाख फलोअरहरुलाई प्रयोग गरेर एसियाली अमेरिकी मान्छेको परिचय, घृणा अपराध र जातीय पूर्वाग्रहको विरुद्धमा आवाज उठाइरहेकी छिन् । उनीले एसियाली अमेरिकी संघका लागि ९० हजार डलर पनि संकलन गर्न सफल भएकी छिन् ।

उनीले क्लबहाउस प्रयोग गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छिन् । सामाजिक सञ्जाललाई कतिको प्रभावकारी र उपयोगी बनाउने हाम्रै हातमा रहेको उनको भनाई रहेको छ।

टोकियो, जापानमा जन्मेकी र अमेरिकाको पश्चिम कोस्टमा हुर्केकी ड्रयू कटाओकाका बुबा जापानी हुन् र उनकी आमा काकेशियन अमेरिकी हुन् । कटाओका सांस्कृतिक नेता र विश्व आर्थिक फोरमको (डब्लुईएफ) युवा ग्लोबल लिडरको रुपमा पनि परिचित छिन् ।

दावोसमा भएको विश्व आर्थिक फोरमको वार्षिक कार्यक्रममा एकल प्रदर्शनी देखाउने केही कलाकारमध्य उनी एक हुन् ।

उनले चार पटक औपचारिक अजेन्डामा डब्लुईएफलाई सम्बोधन गरिसकेकी छिन् र बेजिङ, टोक्यो, याङ्गोन, उलानबाटार, बुईनोस, एरिस, पुएरटो भाल्र्लाटा र जेनेमा भएका वैठकहरुमा सहभागी भइसकेकी छन् ।

उनले वर्ल्ड आर्टस फोरमका लागि पनि लोगो सिर्जना गरेकी छिन् । उनी मिल्केन इन्सिट्युट ग्लोबल एसिया समिट र आबुदाबीमा भएको कुड्वा समिटमा उनी प्रमुख वक्ता पनि थिइन् ।

विश्वकै शिर्ष कला स्टुडियोको नेतृत्व गरिरहेकाले कटाओकाले विश्वभरीका सानोदेखि ठूला कलाकारहरुलाई प्रोत्साहन गरिरहेकी छन् ।

अहिले उनको कला पाँच भिन्दाभिन्दै महादेश र ३० भन्दा बढि देशहरुमा प्रख्यात रहेको छ । उनीले आफ्नो कलामा विज्ञान तथा प्रविधिको विषयहरुलाई पनि समेट्ने गर्छिन् ।

उनको काम आगामी नन फन्जीबल कार्यक्रममा पनि समावेश गरिने भएको छ । उनीले कलाकृति र प्रविधिको राम्रो मिश्रण विश्वसामु समावेश गरिसकेकी छन् ।

उनले यसभन्दा पहिले अन्तरिक्षमा पनि आफ्नो कलाकृति पठाएर अन्र्तराष्ट्रिय स्पेस स्टेसनमा पहिलो शून्य गुरुत्वाकर्षण कला प्रदर्शन आयोजना गरेकी थिइन् ।

कटाओकाले एपको सामाजिक परिवर्तन ल्याउन सक्ने क्षमतालाई अझै उजागर गरिदिएकी छिन् । महिलाको अधिकार, शिशु मृत्युदर र अन्तर्राष्ट्रिय सक्रियता जस्ता डोमेनहरुमा पनि काम गरिरहेकी छिन ।

कलाकृतिका लागि बनाइएको क्लबहाउसको सबैभन्दा पुरानो द आर्ट क्लबको संस्थापन पनि कटाओकाले नै गरेकी हुन् । त्यो क्लबमा अहिले ९७ हजार फलोअरहरु रहेका छन् ।