कीवर्डहरू -

लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा

लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर दु दी होम) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।

एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि लुम्बिनी प्रदेशमा पमनि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो ।

हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् ।

यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछन् । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

नेपाल टेलिकमले गत पुष १७ गते पहिलो पटक एनटी टिभीको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट मा उपलब्ध छ ।