कीवर्डहरू -

भर्चुअल विधिबाटै नमूना संसद सञ्चालन

भर्चुअल विधिबाटै नमूना संसद सञ्चालन

राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । देशभरिका युवालाई प्रविधि प्रयोग गरेर एकै ठाउमा जम्मा गरेर युवा संसद सञ्चालन गरेको हो ।

कोरोना भाइरसको कारणले भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि परिषद्ले प्रविधिको प्रयोग गरि युवा संसद सञ्चालन गरेको हो । परिषद्ले सातवटै प्रदेशमा ‘नमुना युवा प्रदेश सभा’ भर्चुअल विधिबाट सञ्चालन गरेको छ ।

परिषद्का उपाध्यक्ष माधबप्रसाद ढुंगेलले भर्चुअल विधिबाट पनि युवा संसदको अभ्यास सम्भव भएको बताए । छनौट परेका १६ देखि २४ बर्ष उमेर समूहका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिकामा भर्चुअल विधिबाट युवा प्रदेश सभाको अभ्यास गराउन सम्भव भएको हो ।

परिषद्ले सातवटै प्रदेशमा छुट्टाछुट्टै जुमबाट प्रदेश सभा सञ्चालन गरेको हो । सातवटै प्रदेशमा भर्चुअल विधिबाट सभा सञ्चालन गर्नका लागि पाँच जनाको प्राविधिकको समूह रहेको छ ।

उक्त समूहले प्रत्येक प्रदेशमा एक वटा जुम आइडी उपलब्ध गराएर सभा सञ्चालन गरेको हो । भर्चुअल रुपमा सभा सञ्चालन गर्नका लागि सात वटा क्यामेराको प्रयोग गरिएको थियो ।

भौतिक उपस्थिति जस्तै भर्चुअलबाट प्रविधिको प्रयोग गरेर प्रदेश सभाको कार्यकक्ष, रोष्टम, कुर्ची, मर्यादापालकको पनि  प्रदेश सभा सञ्चालन गर्दा देखाइको थियो ।

‘कोरोना भाइरसको कारणले हामीले भर्चुअल विधिबाट गरौ’ उनले भने, ‘हामीले पहिलो त सम्भव हुन्न भन्ने जस्तो लागेको थियो तर हामीले सभा राम्रोसंग सञ्चालन गरौ ।’

भर्चुअल विधिबाट गरिएको सभा सञ्चालनको समापनमा सातवटै प्रदेशमा जुमलाई एकै ठाउँमा जोडिएको थियो ।परिषद् कार्यकारी उपाध्यक्ष ढुंगेलले भर्चुलअ विधिबाट कम खर्च पनि कममा कार्यक्रम प्रभावकारी भएको बताए ।

‘यही भौतिक उपस्थितिमा भएको भए हाम्रो समूह सातवटै प्रदेशमा जानुपर्दथ्यो जसले गर्दा खर्च बढी हुने गर्दथ्यो’ उनी भन्छन्, ‘तर भर्चुअलबाट युवा प्रदेश सभा सञ्चालन गर्दा खर्च पनि कम र कार्यक्रम पनि प्रभावकारी भएको छ ।’

परिषद्ले यहि असार २८ गते देखि नै यसै गरी संघीय नमुना युवा संसद सञ्चालन गर्ने छ । उनले प्रशिक्षण दिएका युवाले नमुना प्रदेश सभा सञ्चालन गरेजस्तै सरकारले कोरोना भाइरसको समयमा व्यवस्थापिका संसद चलाउन सकिने धारणा राखेका थिए ।

‘दुई दिन तालिम लिएका १६ देखि २४ बर्ष उमेर समूहका युवाले नमुना युवा प्रदेश सभा सञ्चालन गर्नुभयो” उनले भने, ‘नमुना युवा प्रदेश सभाजस्तै संसदीय अभ्यास गरेका सांसदबाट कोरोना भाइरसको बेला भर्चुअल विधिबाट नै प्रतिनिधी सभा र राष्ट्रिय सभा सञ्चालन गर्न सकिन्छ ।’

परिषद्ले भोलिदेखि नै दुई दिनसम्म पनि भर्चुअल विधिबाट राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा चार सय जनाको उपस्थित हुने छ ।

यसअघि परिषद् गतबर्ष अन्तराष्ट्रिय युवा दिवस भर्चुअल विधिबाट भएको थियो । उक्त कार्यक्रममा श्रीलंका, भारत र वंगलादेशका मन्त्री र सचिव पनि सहभागि भएका थिए ।