कीवर्डहरू -

३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई हस्तान्तरण गर्‍यो अक्सिजन प्लान्ट 

३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई हस्तान्तरण गर्‍यो अक्सिजन प्लान्ट 

नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ ।

असार २८ गते सोमबार बैंकले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।

उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो ।

त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ ।

यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

यो अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।

आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ ।

कोभिड १९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने बैंकले जनाएको छ ।