कीवर्डहरू -

६६२ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, अप्टिकल फाइबर विस्तारमा ढिलाइ

६६२ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, अप्टिकल फाइबर विस्तारमा ढिलाइ

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्र्तगत नेपाल दूरसञ्चार प्राधिकरणले ६६२ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ । प्राधिकरणका अनुसार गत जेठ मसान्तसम्म ६६२ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै ५ हजार २३० वडा कार्यालय, ४ हजार ६०३ माध्यामिक विद्यालय र ३ हजार ६३३ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । अब ४० वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

त्यसैगरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग (अप्टिकल फाइबर) विस्तारको काम एकदमै ढिलाई भएको छ । अप्टिक फाइबर बिच्छ्याउन प्राधिकरणले ३ वटा प्याकेजमा सम्झौता गरेको थियो ।

पहिलो प्याकेज अन्तर्गत प्रदेश १,२  बागमति प्रदेशमा नेपाल टेलिकमले ९७९ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ । टेलिकमले हालसम्म अप्टिकल फाइबर बिच्छ्याउने काम ४४.९२ प्रतिशत मात्रै सम्पन्न गरेको छ ।

प्राधिकरणले दोस्रो प्याकेज अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिक फाइबर बिच्छ्याउन युनाईटेड टलिकमसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार कार्य प्रगति नभएपछि प्राधिकरणले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

तर युनाइटेड टेलिकम प्राधिकरणको उक्त निर्णय विरूद्ध सर्वोच्च अदालत गएपछि निर्णय कार्यन्यन नगर्न अन्तरिम आदेश दिएसँगै काम अगाडि बढ्न सकेको छैन् ।

त्यस्तै तेस्रो प्याकेज अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउन प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।

शुरूमा स्मार्ट टेलिकमलाई दिइएको ठेक्का सम्झौता अनुसार काम हुन नसकेपछि टेलिकमलाई दिइएको थियो । हाल तेस्रो प्याकेजको कार्य प्रगति पनि शुन्य रहेको छ ।