कीवर्डहरू -

विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान

विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान

टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ । कोरोना महामारीका कारण विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महांकाल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमुना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको जानकारी दिए ।

‘इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ,’ उनले भने । टोखा नगरपालिकाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ ।

टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’लाई निरन्तरता दिने बताएको छ ।

‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

बागमती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ ।

टोखामा हाल आठ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वटा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले जानकारी दिए । रासस