कीवर्डहरू -

बैंक ह्याक धम्की : ह्याकरबाट अमेरिकी फोन नम्बर प्रयोग, साइबर ब्युरोले सुरु गर्यो अनुसन्धान

बैंक ह्याक धम्की : ह्याकरबाट अमेरिकी फोन नम्बर प्रयोग, साइबर ब्युरोले सुरु गर्यो अनुसन्धान

ह्याकरले नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकिङ प्रणाली ह्याक गर्ने धम्कीको घटनालाई नेपाल प्रहरीको साइबर व्युरोले अनुसन्धान अगाडि बढाएको छ ।

बिहीबार ह्याकरले बैंकहरु ह्याक गर्ने धम्किसहित नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सहप्रवक्ता नायराण प्रसाद पोख्रेललाई फोन गरेका थिए भने इमेल पनि पठाएको भन्दै उक्त इमेलको स्क्रिनसट विभिन्न व्यक्तिलाई फरवार्ड गरिएको थियो ।

‘हामीले यस विषयमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर व्युरोलाई पात्राचार गरेका छौं,’ पोख्रेलले भने, ‘अब साइबर ब्युरोबाट यसको अनुसन्धान अगाडि बढ्छ ।’

उक्त फोन र म्यासेज आएपछि राष्ट्र बैंकले अध्ययन सुरु गरेको थियो । प्रारम्भिक अध्ययनमा प्रवक्ता र सहप्रवक्तालाई गर्न गर्न ह्याकरले अमेरिकी नम्बर प्रयोग गरेको देखिएको छ । पोख्रेललाई फोन गर्न तीनवटा त्यस्ता नम्बर प्रयोग गरेका थिए ।

‘केही नम्बरबाट कल पनि आएको पाइयो, त्यो नम्बर कोडिङ गरेर र उनीहरुले इमेल पठाएको भनिएको इमेल ठेगानासहित साइबर व्युरोलाई पठाएका छौं,’ पाख्रेलले भने, ‘उनीहरुले थप एक्सन लिन्छन् ।’

२४ घण्टाभित्र नेपाल राष्ट्र बैंकसहितका बैंकहरुमा साइबर हमला गरेर रकम लुट्ने र डेटा चोरी गर्ने धम्की आए पनि अहिलेसम्म त्यस्तो कुही जोखिम नदेखिएको उनले बताए ।

ह्याकरले फरवार्ड गरेको इमेलको स्क्रिनसटमा ढकाल, पोख्रेल र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई इमेल गरेको देखिन्छ । उक्त इमेल २०२१ जुलाई २१ को दिन ३ बजेर २८ मिनेटमा क्रियट गरिएको थियो ।

ह्याकरले पठाएको भनिएको इमेलमा १६ वटा बैंकको नाम उल्लेख छ । नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ।

ह्याकरले इमेलमा माथि उल्लेखित बैंकहरुले २४ घण्टामा ठूलो क्षति भोग्नु पर्ने लेखेका छन् । साथै, नोट भन्दै यो हल्ला मात्र हैन, यसलाई जोकका रुपमा नलिनसमेत भनेका छन् ।