कीवर्डहरू -

सामाजिक सञ्जाल आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत घोषणा 

सामाजिक सञ्जाल आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत घोषणा 

नेपालीले बनाएको व्यवसायिक सामाजिक सञ्जाल ‘आफन्त’ले दुई महिनादेखि सञ्चालन गरेको ‘आफन्त विस्तार प्रतियोगिता’को पुरस्कृतहरु घोषणा गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा गोला प्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो । बिजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजित प्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् ।
भाग्यशाली बिजेताहरुलाई जनही १०–१० हजार रुपियाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले बताए ।

लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन गर्नुका साथै उद्यमशीलता विकाश गर्ने उद्देश्यले आफन्त नामक सामाजिक सञ्जाल एक वर्ष अगाडि सञ्चालनमा आएको हो । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध छ ।

आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको आफन्त नेपाल प्रालिका अध्यक्ष श्याम गिरीले बताए ।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदानप्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनले बताए ।