कीवर्डहरू -

तीन वर्ष एक्सबाट टाढा रहेका जुकरबर्ग फेरि सक्रिय, किन फर्किए मस्कको प्लेटफर्ममा ?

तीन वर्ष एक्सबाट टाढा रहेका जुकरबर्ग फेरि सक्रिय, किन फर्किए मस्कको प्लेटफर्ममा ?

काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले करिब तीन वर्षको अन्तरालपछि एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो सक्रियता बढाएका छन् । सन् २०२६ मा पुन: पोस्ट गर्न थालेका जुकरबर्ग पछिल्लो समय एक्समा नियमित रूपमा देखिन थालेका हुन् ।

जुकरबर्गले एक्समा पुनरागमनको सुरुवात मेटाको एआई मोडल ‘म्युज स्पार्क १.१’ सम्बन्धी जानकारी सार्वजनिक गर्दै गरेका थिए । त्यसपछि उनले एआई र मेटाका गतिविधिसँग सम्बन्धित सामग्री एक्समा निरन्तर पोस्ट गर्दै आएका छन् ।

उनको पछिल्लो पोस्ट सेप्टेम्बर ९ मा आएको थियो । उक्त पोस्टमा उनले प्रयोगकर्ताका लक्ष्य बुझेर चौबीसै घण्टा काम गर्न सक्ने व्यक्तिगत एआई एजेन्ट ‘म्युज’बारे उल्लेख गरेका थिए ।

मेटाले नै सञ्चालन गरिरहेको सामाजिक सञ्जाल ‘थ्रेड्स’का साथै एक्समा पनि सक्रिय हुनुको कारणबारे सोधिएको प्रश्नमा जुकरबर्गले यसलाई व्यक्तिगत प्रचारभन्दा फरक उद्देश्यसँग जोडिएको बताएका छन् ।

एआई समुदायसँग जोडिन एक्स रोजेको दाबी
जुकरबर्गका अनुसार एआई, मेसिन लर्निङ र अनुसन्धान क्षेत्रमा सक्रिय धेरै इन्जिनियर तथा अनुसन्धानकर्ता अझै पनि एक्समा ठूलो संख्यामा सक्रिय छन् । त्यसैले त्यस्ता समुदायसम्म पुग्न एक्समा मेटाको संस्थागत उपस्थिति आवश्यक रहेको उनको तर्क छ ।

उनले सामाजिक सञ्जालमा एउटै प्लेटफर्ममा मात्र सीमित हुनुभन्दा विभिन्न प्लेटफर्ममा रहेका फरक–फरक समुदायसँग संवाद गर्नु उपयोगी हुने बताए । जुकरबर्गले सामाग्री प्रकाशनको उदाहरण दिँदै कुनै सामाग्री वा पोडकास्ट एउटा प्लेटफर्ममा तयार तथा प्रकाशित गरिए पनि त्यसलाई थप मानिससम्म पुर्‍याउन अन्य प्लेटफर्ममा समेत साझा गर्ने अभ्याससँग आफ्नो रणनीति तुलना गरेका छन् ।

उनका अनुसार थ्रेड्स र एक्समा एउटै सामाग्री पोस्ट गर्नुको उद्देश्य पनि यही हो । “फरक–फरक ठाउँमा फरक समुदाय छन् । एक्समा एआईसँग सम्बन्धित धेरै मानिसहरू छन्,” उनले भनेका छन् ।

थ्रेड्स र एक्स दुवैमा सक्रिय
मेटाको प्रत्यक्ष प्रतिस्पर्धी मानिने एक्समा जुकरबर्गको पुन: सक्रियतालाई सामाजिक सञ्जालबीचको प्रतिस्पर्धासँगै एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा पनि हेरिएको छ ।

विशेष गरी एआई अनुसन्धानकर्ता र प्रविधि क्षेत्रका विज्ञहरू सक्रिय रहने प्लेटफर्ममा आफ्नो पहुँच कायम राख्न जुकरबर्गले एक्सलाई उपयोग गरिरहेका छन् । यससँगै उनी मेटाको आफ्नै प्लेटफर्म थ्रेड्समा पनि सक्रिय छन् ।

जुकरबर्गले आफू थ्रेड्स र एक्स दुवैमा एउटै सामग्री पोस्ट गर्ने गरेको स्पष्ट पार्दै फरक प्लेटफर्ममा रहेका समुदायसम्म पुग्नु नै यसको मुख्य कारण भएको बताएका छन् ।