कीवर्डहरू -

कारखानाले ल्यायो विद्यार्थीका लागि पाँच प्रकारका नयाँ सिकाइ सामग्री

कारखानाले ल्यायो विद्यार्थीका लागि पाँच प्रकारका नयाँ सिकाइ सामग्री

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले दसैंको अवसर पारेर कक्षा १ देखि १० सम्‍मका विद्यार्थीलाई लक्षित गरेर पाँच प्रकारको नयाँ सिकाइ सामग्रीहरु ल्याएको छ ।

इन्नोभेटिभ शिक्षाको आशिर्वाद, कारखाना र इसेवाको साथ भन्‍ने उद्देश्‍यसहित कारखानाले  उक्त सिकाइ सामग्रीहरु ल्‍याएको हो ।

उक्त सिकाइ सामग्रीमा कारखाना स्टिम बुक्स प्रोग्राम (कक्षा १ देखि ५ सम्म), कारखाना स्टोरीज एण्ड इन्जिनियरिङ प्रोग्राम (कक्षा १ देखि ५ सम्म), कारखाना इन्जिनियरिङ प्रोग्राम ( कक्षा १ देखि १० सम्‍म), कारखाना साइन्स प्रोग्राम ( कक्षा ६ देखि ८ सम्‍म) तथा कारखाना इलेक्ट्रोनिक्सएण्ड रोबोटिक्स प्रोग्राम (कक्षा ३ देखि ५ सम्‍म) रहेका छन् ।

नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । विगत ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ ।

कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाइ किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ ।

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेकोले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाइ छ । यसले शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा आफैले अनुभव गर्न पाउने कारखानाले जनाएको छ ।

बच्चाहरुको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवित्रबहादुर गौतमले बताए । कारखानाले प्रविधियुक्त शिक्षाको चक्र नै बनाएको दाबी उनको छ ।

साइन्स किटले २१ औँ शताब्दी अनुकुल शिक्षामा जोड दिएको दाबी गरिएको छ । उनले भने, ‘अब दसैं आउँदैछ । बालबालिकालाई शिक्षाको आशिर्वाद दिन अभिभावकलाई कारखानाले सुनौलो अवसर दिएको छ । यसलाई आफ्नो बालबालिकासँग बाडौं र शिक्षालाई सजिलो बनाऔं ।’

कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो । यसले सिकाइका नयाँ पद्धतिहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाईका योजनामा अनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरी व्यवहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ । यस्तै कारखानाले व्यवहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्न सामग्रीको उत्पादन पनि गर्दै आएको छ ।

व्यवहारिक र प्रविधिमैत्री शिक्षाको लागि २०७३ सालदेखि काम थालेको कारखानाले नेपालबाहेक अन्य ५ वटा देशमा पनि कारखानाले बनाएका सिकाईका सामग्री पुगेका छन् ।