काठमाडौं । प्रविधि क्षेत्रमा सक्रिय संस्था Code for Change ले देशकै ठूलो विद्यार्थी नवप्रवर्तन तथा ह्याकाथन प्रतियोगिता CodeFest 2026 आयोजना गर्ने घोषणा गर्दै दर्ता खुला गरेको छ । संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) लाई मुख्य विषय वस्तु बनाएर आयोजना हुन लागेको प्रतियोगिताले प्रविधिमार्फत सामाजिक तथा वास्तविक जीवनका समस्याको समाधान खोज्न सक्षम युवा नवप्रवर्तक तयार पार्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । यस वर्ष प्रतियोगितामा सातै प्रदेशका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
CodeFest 2026 दुई विधामा सञ्चालन हुनेछ । पहिलो, +२ तह अन्तर्गत हाल उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूले २ देखि ४ जनाको टोली बनाएर प्रतिस्पर्धा गर्न सक्नेछन् । यसमा प्रारम्भिक चरणमा भर्चुअल आइडियाथन आयोजना गरिनेछ भने उत्कृष्ट टोलीहरूलाई भौतिक ह्याकाथनका लागि छनोट गरिनेछ । दोस्रो, स्नातक तह अन्तर्गत प्रविधिसम्बन्धी विषय अध्ययनरत विद्यार्थीहरू प्रदेशस्तरीय छनोट हुँदै राष्ट्रिय ग्रान्ड फिनालेसम्म पुग्ने हाइब्रिड प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
प्रतियोगिताको प्रदेशस्तरीय चरण साउन र भदौ महिनाभर विभिन्न सहरमा सञ्चालन हुनेछ । पोखरामा साउन ७ देखि ९, रुपन्देहीमा साउन १६ र १७, चितवनमा साउन २९ देखि ३१ तथा वीरगञ्जमा भदौ ५ र ६ गते कार्यक्रम तय गरिएको छ । काठमाडौं, कोशी, सुदूरपश्चिम र दाङमा पनि तोकिएका मितिमा प्रतियोगिता आयोजना हुनेछ । प्रत्येक प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले काठमाडौंमा हुने राष्ट्रिय ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् ।
पुरस्कारतर्फ स्नातक तहको राष्ट्रिय विजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने +२ तहमा कुल १ लाख रुपैयाँ पुरस्कार वितरण गरिनेछ । यसअन्तर्गत विजेताले ५० हजार, उपविजेताले ३० हजार र दोस्रो उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन +२ तहका लागि १,५०० रुपैयाँ र स्नातक तहका लागि २,५०० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
आयोजकका अनुसार पाँचौँ संस्करणमा प्रवेश गरेको CodeFest मा यस वर्ष देशभरबाट ५०० भन्दा बढी टोली, २०० भन्दा बढी परियोजना तथा २,००० भन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगिताले नेपाली विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान र प्रविधिमूलक उद्यमशीलताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास आयोजकको छ ।
आईसीटी समाचार