कीवर्डहरू -

सय प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, फिक्स लाइन सुस्त, मोबाइल तीव्र

सय प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, फिक्स लाइन सुस्त, मोबाइल तीव्र

मुलुकमा पहिलो पटक सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको हो ।

प्राधिकरणको २०७७ असार महिनाको रिपोर्टअनुसार १०२ प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । यसमा अधिकांस ग्राहक मोबाइल ब्रोडव्यान्डका छन् भने फिक्स ब्रोडव्यान्ड इन्टरनेट कम रहेका छन् ।

सत प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुग्दा ७६ प्रतिशत मोबाइल ब्रोडव्यान्ड पुगेको छ भने २५.६६ प्रतिशतमा फिक्स ब्रोडव्यान्ड इन्टरनेट र ०.७० प्रतिशतमा वायरलेस फिक्स इन्टरनेट पुगेको छ ।

ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोड ९ लाख ५४ हजार पुगेका छन् । त्यसमध्ये मोबाइल ब्रोडव्यान्ड चलाउनेको संख्या २ करोड २९ लाख ८५ हजार रहेका छन् भने फिक्सका चलाउनेको संख्या ७९ लाख ६९ हजार रहेका छन् । प्राधिकरणले एक ग्राहक बराबर ४.८८ जना व्यक्तिले इन्टरनेट चलाउने मान्यतका आधारमा फिक्स इन्टरनेटका ग्राहक संख्या निकाल्ने गर्छ ।

यी दुई प्रविधिका इन्टरनेट विस्तार हेर्दा मोबाइल ब्रोडव्यान्ड तीव्ररुपमा विस्तार भएको छ भने फिक्स इन्टरनेट विस्तार सुस्त रहेको छ ।

एक वर्षमा ब्रोडव्यान्ड इन्टरनेट विस्तार ७४.४३ बाट १०२ प्रतिशत पुग्दै २८ प्रतिशतले वृद्धि भएको छ ।
२०७६ असार महिनामा मोबाइल ब्रोडव्यान्ड इन्टरनेट ५५.३० प्रतिशत रहेको थियो । एक वर्षमा मोबाइल ब्रोडव्यान्ड इन्टरनेट  २१ प्रतिशतले वृद्धि भएको छ ।

फिक्स ब्रोडव्यान्ड इन्टरनेटको एक वर्षमा झन्डै ७ प्रतिशतले मात्र वृद्धि भएको छ । २०७६ असारमा १८.३५ प्रतिशत रहेको फिक्स ब्रोडव्यान्ड इन्टरनेट गएको असारमा २५ प्रतिशत पुगेको छ ।