कीवर्डहरू -

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस रिपोर्ट अनुसार नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४३० छन् ।

गत असोजमा टेलिकमका ६६ लाख ३४ हजार ६५ फोरजी ग्राहक थिए । असोजको तुलनामा टेलिकमले कात्तिक महिनामा ८ लाख ५१ हजार ३६५ फोरजी ग्राहक बढाएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले रेडियो नेटवर्कको फोरजीको इक्विपमेन्टको हिसाबले गर्नुपर्ने अन्तिम कामहरू सकिएको र प्याकेज पनि आकर्षक भएका कारण फोरजी ग्राहक बढेको बताए ।

नेपाल टेलिकमले आक्रामक रूपमा फोरजी विस्तार गरिरहेको छ । सबै स्थानीय तहमा फोरजी पुर्‍याउने टेलिकमको योजना छ । तर अति विकट ठाउँमा तुरून्तै पुर्‍याउन गार्‍हो रहेको उनले बताए ।

‘ नेपाल टेलिकमको उद्देश्य सबै स्थानीत तहमा पुर्‍याउने हो,’ जोशीले आइसिटी समाचारसँग भने, ‘तर अति विकट ठाउँहरू पनि छ । जुन ठाउँमा विद्युतको समस्या र सोलार पनि त्यति डिपेन्डेबल नहुने क्षेत्रमा तुरून्तै पुगिहाल्छ भन्न गार्‍हो छ । तर प्रविधिको उपलब्धतासँगै त्यो हुँदै जान्छ ।’

असोजको तुलनामा कात्तिकमा एनसेलका ग्राहक भने सामान्य बढेका छन् । यो एक महिनाको अवधिमा एनसेलले ८८ हजार ७६४ ग्राहक बढाएको छ ।

उता स्मार्ट टेलिकमका भने फोरजी प्रयोगकर्ता घटेका छन् । असोजमा १ लाख ६७ हजार ९६ फोरजी ग्राहक रहेका कम्पनीका कात्तिकसम्म आईपुग्दा घटेर १ लाख ५३ हजार ७४५ भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस रिपोर्टका अनुसार नेपालमा १ करोड ३७ लाख ८७ हजार ४१९ फोरजी प्रयोगकर्ता रहेका छन् ।