कीवर्डहरू -

माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था विभागले आउँदाे माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताउनुभयो ।

विभागले गएकाे मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उहाँका अनुसार विभिन्न ठाउँमा इम्बोस्ड नम्बर प्लेट भए/नभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उहाँले भन्नुभयो, नयाँ र पुरानो सबैमा गरी २५/२६ सवारीसाधन सबैमा अनिवार्य गरिनेछ ।

नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता डा. भुषालले बताउनुभयो । कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको छ । उनले भने, अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसकिने योजना छ ।

पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर) को कार्यान्वयन सुस्त भएको हो । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आईटी (द कर्पोरेशन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

गएकाे जेठमा अवधि सकिएकामा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त याे नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो ।

सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आबद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । याे सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ ।

त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा 'स्टिकर' वा ट्याग जडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० ठाउँमा गेट निर्माण गरिनेछ ।

काठमाण्डाै उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा गेट निर्माण हुनेछ ।

संविधानअनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै विसं २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । याे मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो ।

यस मुद्दामा रिट खारेज गरेपछि फेरि अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । भाषाविद्हरूले याे नम्बर प्लेट नेपाली भाषामा नै हुँदा उपयुक्त हुने बताउँदै आएका छन् । रासस