कीवर्डहरू -

नागरिक एपमा ‘फेस भेरिफिकेसन’ प्रविधि, अब केही सेकेन्डमै घरबाटै पेन्सन प्रमाणीकरण

नागरिक एपमा ‘फेस भेरिफिकेसन’ प्रविधि, अब केही सेकेन्डमै घरबाटै पेन्सन प्रमाणीकरण

काठमाडौं । प्रिक्सा कम्पनीअन्तर्गत सञ्चालित ‘थर्ड फ्याक्टर एआई’ले विकास गरेको अत्याधुनिक डिजिटल परिचय प्रमाणीकरण (आईडी भेरिफिकेसन) प्रविधि अब नेपाल सरकारको ‘नागरिक एप’सँग एकीकृत गरिएको छ । यसअघि यो प्रणाली केवल निवृत्तिभरण (पेन्सन) व्यवस्थापन कार्यालयको डिजिटल पेन्सन प्रमाणीकरण सेवामा सीमित थियो ।

यस प्रविधि लागू हुनुअघि पेन्सन प्राप्त गर्ने नागरिकहरूले प्रत्येक छ महिनामा आफू जीवित रहेको प्रमाणित गर्न अनिवार्य रूपमा बैंकको शाखामा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था थियो । तर, डिजिटल प्रमाणीकरण प्रणाली कार्यान्वयन भएपछि तीन लाखभन्दा बढी पेन्सनरले बैंक धाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

अहिले उनीहरूले घरमै बसेर सुरक्षित र सहज रूपमा आफ्नो परिचय प्रमाणीकरण गर्न सकिरहेका छन् । नागरिक एपमा यो प्रविधि समावेश भएसँगै पेन्सनरहरूले राष्ट्रिय परिचयपत्रमा रहेको विवरणका आधारमा अनुहार प्रमाणीकरण (फेस भेरिफिकेसन) गरेर केही सेकेन्डमै आफ्नो पहिचान पुष्टि गर्न सक्ने भएका छन् । यसले सेवाग्राहीलाई समय, खर्च र झन्झटबाट राहत दिने अपेक्षा गरिएको छ ।

प्रमाणीकरण प्रक्रिया दुई चरणमा सञ्चालन हुन्छ । पहिलो चरणमा प्रणालीले सरकारी अभिलेखमा रहेको तस्बिरसँग प्रयोगकर्ताको प्रत्यक्ष अनुहार मिलान गर्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रमा सुरक्षित रहेका विवरणहरूको स्वचालित रूपमा प्रमाणीकरण गरिन्छ । यी दुवै चरण सफलतापूर्वक पूरा भएपछि मात्र पेन्सन प्रमाणीकरण प्रक्रिया सम्पन्न हुने भएकाले यो प्रणालीलाई सुरक्षित, भरपर्दो र प्रभावकारी प्रविधिका रूपमा हेरिएको छ ।