कीवर्डहरू -

प्रविधि प्रतिभाको खोजीमा ‘लुम्बिनीएक्स’ ह्याकाथन, आवेदन खुला

प्रविधि प्रतिभाको खोजीमा ‘लुम्बिनीएक्स’ ह्याकाथन, आवेदन खुला

काठमाडौं । रूपन्देहीस्थित लुम्बिनी सिटी कलेजमा आगामी साउन २३ देखि २५ गतेसम्म राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ (LumbiniX) ह्याकाथन आयोजना हुने भएको छ ।

कलेजका विद्यार्थीहरूले स्थापना गरेको प्रविधिमूलक समुदाय लुम्बिनी एलिट उपभोक्ता समितिको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

‘Where Spirituality Meets Innovation’ नारासहित आयोजना हुने ह्याकाथनमा नेपालभरका विद्यालय तथा स्नातक तहका विद्यार्थीहरूले तीनदेखि चार सदस्यीय टोली बनाएर सहभागिता जनाउन सक्नेछन् ।

आयोजकका अनुसार प्राप्त आवेदनमध्ये उत्कृष्ट १० टोली छनोट गरी प्रत्यक्ष प्रतिस्पर्धाका लागि लुम्बिनी सिटी कलेजमा आमन्त्रित गरिनेछ । प्रतिस्पर्धा सुरु हुनुअघि छनोट भएका टोलीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गराइने कार्यक्रम पनि रहेको छ ।

प्रतिस्पर्धाका क्रममा सहभागी टोलीलाई आफ्ना परियोजना विकास र प्रस्तुतीकरणलाई थप प्रभावकारी बनाउन Claude Pro र Canva Pro जस्ता डिजिटल सुविधा उपलब्ध गराइनेछ । साथै, उद्योग क्षेत्रका अनुभवी विज्ञ तथा मेन्टरहरूले ह्याकाथन अवधिभर सहभागीलाई आवश्यक मार्गदर्शन गर्नेछन् ।

ह्याकाथनको कुल पुरस्कार राशि २ लाख रुपैयाँ निर्धारण गरिएको छ । सहभागी हुन इच्छुक टोलीले www.lumbinix.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन दर्ताको अन्तिम मिति श्रावण १७ गते तोकिएको आयोजकले जनाएको छ ।