काठमाडौं । प्रवेश परीक्षा तयारी गर्ने संस्थामाथि प्रतिबन्ध लागेपछि एसइई उत्तीर्ण विद्यार्थीहरू उचित मार्गदर्शनबाट वञ्चित भइरहेका बेला एक नेपाली विद्यार्थीले नि:शुल्क एआई आधारित शैक्षिक प्लेटफर्म सुरु गरेका छन् ।
पुल्चोक क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्ष अध्ययनरत प्रदीप ओझाले ‘NeuraFix Bridge’ नामक एआई सञ्चालित प्लेटफर्म विकास गरेका हुन् । एसइई पछि कक्षा ११ को प्रवेश परीक्षा तयारी, विषय छनोट, कलेज चयन तथा करियर मार्गदर्शनमा विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
NeuraFix Bridge पूर्ण रूपमा नि:शुल्क रहेको र एसइई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी निर्माण गरिएको प्रदीप ओझाले बताएका छन् । उनका अनुसार सरकारले प्रवेश परीक्षा तयारी संस्थामाथि प्रतिबन्ध लगाए पनि प्रवेश परीक्षा भने कायमै रहेकाले धेरै विद्यार्थी तयारी र परामर्शको अभावमा अन्योलमा पर्ने गरेका छन् ।
प्लेटफर्ममार्फत विद्यार्थीले २४/७ एआई ट्युटरको सहायता लिएर प्रवेश परीक्षाको तयारी गर्न सक्नेछन् । यसका साथै व्यक्तिगत सिकाइ शैलीअनुसार पर्सनलाइज्ड नोट्स, स्मार्ट प्राक्टिस सेसन, मक टेस्ट तथा करियर काउन्सिलिङ सुविधा उपलब्ध रहेको जनाइएको छ । विद्यार्थीले आफूलाई उपयुक्त विषय, कलेज र करियर रोजाइबारे पनि मार्गदर्शन पाउन सक्नेछन् ।
प्रदीपका अनुसार यो प्लेटफर्म निर्माणको प्रेरणा उनको आफ्नै अनुभवबाट आएको हो । "चार वर्षअघि एसइई पछि मैले पनि कलेज, विषय छनोट र प्रवेश परीक्षा तयारीका लागि धेरै समय आफैं अनुसन्धानमा खर्च गर्नुपरेको थियो । उचित मार्गदर्शन नहुँदा अन्योल थियो," उनले भने, “त्यही समस्या भविष्यका विद्यार्थीले नझेलून् भन्ने उद्देश्यले यो प्लेटफर्म बनाएको हुँ ।”
उनका अनुसार NeuraFix Bridge ले विद्यार्थीलाई घरबाटै सहज रूपमा अध्ययन, तयारी र करियरसम्बन्धी निर्णय लिन सहयोग पुर्याउने लक्ष्य राखेको छ । इच्छुक विद्यार्थीले NeuraFix Bridge प्लेटफर्म https://bridge.neurafixai.com मार्फत प्रयोग गर्न सक्नेछन् । साथै, प्लेटफर्मको विकासकर्ता संस्था NeuraFix AI ले आगामी दिनमा थप शैक्षिक सुविधा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
आईसीटी समाचार