कीवर्डहरू -

नेपालमै बन्यो ‘यात्री पीटू’, अर्थमन्त्री वाग्लेले भने- 'सरकार तपाईंहरूको साथमा छ'

नेपालमै बन्यो ‘यात्री पीटू’, अर्थमन्त्री वाग्लेले भने- 'सरकार तपाईंहरूको साथमा छ'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएका विद्युतीय सवारी साधनको प्रवर्द्धन र विकासमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखाना पुगेर नेपाली प्रविधिमा तयार पारिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को निर्माण प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई विश्वस्तरीय प्रतिस्पर्धामा स्थापित गर्न आग्रह गरे ।

उनले नेपाली इन्जिनियर र डिजाइनरको मेहनतबाट तयार भएको विद्युतीय स्कुटर नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । गुणस्तर र प्रविधिमा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सक्ने गरी उत्पादनलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

“यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो । तपाईंहरूले गरेको मेहनत सह्रानीय छ,” उनले भने, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस् । अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ ।”

अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई घरेलु बजारमा सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नुपर्नेमा जोड दिए । उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि नेपालमै विकास गर्न सके त्यसले स्वदेशी उद्योगलाई थप बलियो बनाउने उनको भनाइ थियो ।

“सकेसम्म उत्पादनको काम नेपालमै गर्नुहोस् । सरकारले के कस्तो सहयोग गर्नुपर्ने हो भन्नुहोस्,” उनले भने, “तर विश्व बजारमा कसरी पुग्ने र प्रतिस्पर्धा कसरी गर्ने भन्ने विषयमा पनि सोच्नुपर्छ ।”

अवलोकनका क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा सफल परीक्षणबारे अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका थिए ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ‘यात्री पीटू’को कठिन पहाडी तथा हिमाली भूभागमा समेत परीक्षण सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार स्कुटर छिट्टै सर्वसाधारणका लागि बिक्रीमा ल्याउने तयारी भइरहेको छ ।

कम्पनीले दुईपांग्रे विद्युतीय सवारी साधनमा डीसी चार्जर प्रयोग नेपालमा पहिलोपटक गरिएको दाबी गरेको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्याट्री तथा अन्य कच्चा पदार्थ आयातमा सरकारले सहुलियतपूर्ण नीति लिनुपर्ने श्रेष्ठले बताएका छन् ।

इन्जिनियर असिम पाण्डेले सन् २०१७ मा स्थापना गरेको ‘यात्री मोटरसाइकल’ अहिले सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि ‘सिप्रदी यात्री’का रूपमा सञ्चालनमा छ । कम्पनीले आफ्नै डिजाइन तथा इन्जिनियरिङमा विकास गरेको ‘यात्री पीटू’को गुणस्तर परीक्षण भारतको सम्बन्धित सवारी साधन परीक्षण निकायबाट गराइसकेको जनाएको छ ।