काठमाडौं । सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल माध्यमबाट खरिद गर्दा उपभोक्तालाई १० प्रतिशत भ्याट छुट दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले डिजिटल माध्यमबाट वस्तु तथा सेवा खरिद गरी भुक्तानी गर्ने उपभोक्तालाई तत्काल १० प्रतिशत भ्याट छुट प्रदान गर्ने नीति ल्याइने बताएका छन् । हाल उपभोक्ताले खरिदमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्दै आएका छन् ।
यसैगरी, सरकारले पूँजीगत लाभकरलाई अन्तिम करकै रूपमा कायम राख्ने घोषणा गरेको छ । साथै, विभिन्न ३ सय ६० वस्तुमा लाग्दै आएको अन्त: शुल्क खारेज गर्ने निर्णय पनि बजेटमार्फत सार्वजनिक गरिएको छ ।
त्यस्तै, सरकारले नेपाल टेलिकमको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत स्वामित्व कायम रहने र बाँकी ३४ प्रतिशत शेयर सर्वसाधारणलाई वितरण गरिने जानकारी दिएका हुन् ।
उनका अनुसार आगामी पुस महिनाभित्र सर्वसाधारणलाई शेयर जारी गरिनेछ । शेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’का रूपमा विकास गर्न प्रयोग गरिने सरकारको योजना छ ।
आईसीटी समाचार