कीवर्डहरू -

१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम 

१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम 

नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स, एफटिटिएच लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।

नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन सेवा वि.सं. १९७३ मा सुरु गरिएको थियो । तर औपचारिक रूपमा टेलिकम सेवा भने वि.सं २००५ मा मोहन एकाश्वानीको स्थापना पछि प्रदान गरिएको थियो ।

त्यसपछि पहिलो राष्ट्रिय पञ्चवर्षीय योजना (२०१२-२०१७) मा बनेको योजना अनुसार वि.सं. २०१६ मा दूरसञ्चार विभाग स्थापना भयो । तर दूरसञ्चार सेवालाई आधुनिकीकरण गर्न र सेवाहरूको विस्तार गर्न तेस्रो पञ्चवर्षीय योजना (२०२३-२०२८) को अवधिमा दूरसञ्चार विभागलाई वि.सं. २०२६ मा दूरसञ्चार विकास बोर्डमा रूपान्तरण गरियो ।

त्यसपछि सञ्चार निगम ऐन २०२८ लागू भएपछि दूरसञ्चार सेवाहरू प्रदान गर्ने उद्देश्यका लागि वि.सं. २०३२ सालमा यसलाई नेपाल दूरसञ्चार संस्थान भनिने गरी पूर्ण सरकारी स्वामित्वको संस्थानको रूपमा औपचारिक रुपमा स्थापना भएको थियो ।

नेपाल दूरसञ्चार संस्थान बिं.स. २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रुपमा दर्ता भएको थियो । पछि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल दरसञ्चार कम्पनी लिमिटेड कम्पनी ऐन २०५३ अन्तर्गत दर्ता गरिएको कम्पनी हो।

नेपाल टेलिकमले हाल देशका ७७ वटै जिल्लाका ७१० बढी स्थानीय तहमा फोरजी सेवा उपलब्ध गराइरहेको छ । साथै ६० भन्दा बढी जिल्लामा एफटिटिएच पुगेको छ । साथै टेलिकमले एनटी टिभी ब्राण्डमा आईपीटिभी समेत सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम सरकारलाई धेरै कर तिर्ने कम्पनीमा समेत पर्छ ।

नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार दिनभर निःशुल्क भीओएलटीई कल सुविधा दिएको छ । त्यस्तै टेलिकमले एनटी एनिभर्सरी अफर समेत ल्याएको छ । यो अफर माघ १८ गतेदेखि फागुन ३ गतेसम्म लागु हुनेछ ।

उक्त अफर अन्तर्गत १० दिनका लागि मान्य हुने २९४ रूपैयाँमा २० जीबी डेटा पाइने छ । त्यस्तै ३ दिनका लागि मान्य हुने ९८ रूपैयाँमा ६ जीबी र १ दिनका लागि मान्य हुने ६९ रूपैयाँमा अनलिमिटेड डेटा पाइने छ ।