कीवर्डहरू -

‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’ 

‘डिजिटल स्वास्थ्यका लागि पूर्वाधारको काम अबिलम्ब अगाडि बढाउनु पर्छ’ 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ अर्थात आजकै दिन तयार गरि कार्यान्वयनमा ल्याएको ई-हेल्थ मार्गचित्रले आज डिजिटल हेल्थ दिवस मनाउने अवसर दिएको छ । यस सन्दर्भमा ई-हेल्थ रणनीति २०७४ र सो को कार्यान्वयनका लागि तयार गरिएको मार्गचित्र तयार गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्रविधिहरुको उच्चतम र सही प्रयोगमार्फत सामाजिक र आर्थिक रुपान्तरण भएको हामीले देखेका छौं । नेपालमा २०२८ सालमा जनगणनामा कम्प्युटरको प्रयोगबाट थालनी भएको सूचना प्रविधि आज घर घर र हात हातमा पुगि सकेको छ ।

लगभग ७३ प्रतिशत घरपरिवारमा कम्तिमा एउटा स्मार्ट मोबाईल फोन, आधा जसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारको इन्टरनेटमा पहुँच रहेको सूचना जनगणना २०२१ बाट प्राप्त भएको छ ।

यसै गरी ५५ प्रतिशत स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा संचार प्रविधिको द्रुत विकास भइरहेको देखिन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउने अभिभारा हामीले लिएका छौं र यसलाई पुरा गर्न सबै किसिमका उपाय र प्रविधि अबलम्बन गर्ने हाम्रो नीति रहेको छ ।

स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले दिएको ई-हेल्थको अवधारणालाई अवलम्बन गर्दै हामी सोको विस्तारित रूप डिजिटल हेल्थ कार्यान्वयनको चरणमा पुगेका छौँ ।

डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता वृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज पहुँच योग्य र गुणस्तरीय बनाउदै स्वास्थ्यकर्मीहरुको व्यवसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौं ।

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामिल हुनु विकल्प रहित भएको अवस्थामा हामीले हाम्रा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनु जरूरी भएको छ ।

स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलीमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम संचार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ, मानव श्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रहरुलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमशः सूचना प्रविधिको प्रयोगको दायरा बढाउन मेरो आग्रह छ ।

हाल स्वास्थ्य सेवामा रहेका विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिंदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयहरुलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने मैले विश्वास लिएको छु । डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नु समेत भविष्यको चुनौती रहेको छ ।

डिजिटल हेल्थको विकास र विस्तारमा आवश्यक कानून, नियम, निर्देशिका जस्ता शासकीय व्यवस्था, यसका मापदण्डहरुको निर्माण र कार्यान्वयन, अंतरनिकाय सहयोग र समन्वय संयन्त्रको स्थापना, सबै तहमा उपयुक्त संस्थागत संरचना, मिश्रित ज्ञानयुक्त जनशक्ति, डिजिटल हेल्थसंग मेल खाने स्वास्थ्य पूर्वाधार, स्रोत साधनको सुनिश्चितता लगायत आवश्यक विषयहरुमा अबिलम्ब कार्य अघि बढाउन समेत आग्रह गर्दछु ।

(पहिलो डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरेको सम्बोधन )