काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ।
यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको हो ।
यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ ।
यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ ।
यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिन्छ । त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन्।
यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ । यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ ।
यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ । यसैगरी संस्थागत ग्राहक समूह (सीयुजी) छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ ।
यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित (जति पनि) कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयुजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन्।
यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ ।
यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ । त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ ।
साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ । त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ ।
१ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।
यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने छ।