काठमाडौं । जिमेलले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि इमेलमा प्राप्त हुने भेरिफिकेसन कोड सजिलै कपी गर्न सकिने नयाँ सुविधा ल्याएको छ । नयाँ सुविधाअन्तर्गत अब प्रयोगकर्ताले इमेल खोलेर कोड खोजी कपी गर्नुपर्ने छैन ।
जिमेलको इनबक्समै देखिने ‘Copy Code’ बटनमार्फत दुई-चरणीय प्रमाणीकरण (2FA) का लागि प्राप्त कोड सिधै कपी गर्न सकिनेछ । यो सुविधा एन्ड्रोइड र आईओएसका लागि उपलब्ध जिमेलको पछिल्लो संस्करणमा समावेश गरिएको बताइएको छ । हाल भने जिमेलको वेब संस्करणमा यो सुविधा उपलब्ध छैन ।
नयाँ सुविधाले दुई-चरणीय प्रमाणीकरण प्रयोग गरी विभिन्न एप तथा वेबसाइटमा साइन इन गर्ने प्रक्रिया थप छिटो र सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि इमेलमार्फत प्राप्त हुने एकपटक मात्र प्रयोग गर्न मिल्ने (OTP) कोड कपी गर्न प्रयोगकर्ताले सम्बन्धित इमेल खोलेर कोड आफैं चयन गर्नुपर्थ्यो ।
अब भने इमेलको विषय (Subject) मुनि नै ‘Copy Code’ बटन देखिनेछ । प्रयोगकर्ताले उक्त बटन थिचेपछि भेरिफिकेसन कोड कपी हुनेछ र आवश्यक एप वा वेबसाइटमा सिधै पेस्ट गर्न सक्नेछन् ।
एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल मेसेजमा एसएमएसमार्फत प्राप्त हुने प्रमाणीकरण कोड सिधै कपी गर्न सकिने सुविधा यसअघि नै उपलब्ध छ । जिमेलको नयाँ सुविधाले भने इमेलबाट प्राप्त हुने प्रमाणीकरण कोड प्रयोग गर्ने प्रक्रियालाई थप सरल बनाउनेछ ।
आईसीटी समाचार