कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।
 
 कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको छ । नेपाली समाजमा नगदबिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको इन्भेष्टमेन्ट बैंकका रिना चन्दले जानकारी दिइन ।
 
 कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम रु. ५०० को कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।
| कारोबार संख्या (मासिक) | नगद फिर्ता | 
| १ देखि ३ पटक सम्मको कारोबारमा | २% वा अधिकतमा रु. १०० | 
| ४ देखि १५ पटक सम्मको कारोबारमा | ५% वा अधिकतमा रु. २०० | 
| १६ देखि ३० पटक सम्मको कारोबारमा | ७% वा अधिकतमा रु. ५०० | 
| ३१ देखि ५० पटक सम्मको कारोबारमा | १०% वा अधिकतमा रु. १००० | 
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याकलोयल्टी योजनामा सहभागी हुन पाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ ।
  
यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।
 
 यसअघि दशैको अवधिमा पनि यि बैंकहरुले कार्ड मार्फत खरिद गर्दा १० प्रतिशत क्यासब्याक दिएका थिए । यस पटकको क्यासब्याक कार्ड प्रयोगको दरमा भर पर्ने र अहिले सबै क्षेत्र होटल, हस्पिटलमा समेत छुट पाइने सानिमा बैंकका बिक्रम श्रेष्ठले बताए । अहिले यि बैंकहरुका १६ लाख प्रयोगकर्ताहरु भिसा कार्डको प्रयोग गरिरहेका छन । यो अफर तत्काल एक महिनाको लागि लागु भएको र तत्पश्चात पुन जानकारी गराइने जनाइएको छ ।
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      