काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुनर्स्थापनामा योगदान पुर्याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेड (युएनएल) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रूपैयाँ सहयोग गरेको छ ।
उद्धार तथा पुनर्स्थापना कार्यहरु निरन्तर भइरहेका अवस्थामा र बाढीको पानी घट्दै जाँदा प्रभावित समुदायहरुमा सुरक्षित र स्वस्थ जीवनयापनको अवस्था पुनर्स्थापित गर्नु अत्यन्त आवश्यक रहेको परिस्थितिमा युनिलिभर नेपाल लिमिटेडले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामाग्री उपलब्ध गराएको छ । जसको मूल्य करिब एक करोड रूपैयाँ बराबर रहेको बताइएको छ ।
बाढीपछि बढ्न सक्ने प्रदूषण तथा सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लाइफब्वाय, लक्स, सनसिल्क, क्लोजअप, भीम र रिनलगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनहरुले प्रभावित परिवारहरुलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुग्ने विश्वास कम्पनीले राखेको छ ।
यस पहलका सन्दर्भमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ । यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरुको साथमा उभिनु महत्वपूर्ण हुन्छ । हामी जारी राहत प्रयासहरुमा सहयोग पुर्याउन र प्रभावित परिवारहरुलाई पुनस्र्थापनाको यात्रामा साथ दिनसक्ने आशा राख्दछौँ ।’
युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित अर्थपूर्ण पहलहरुमार्फत समुदायहरुलाई सहयोग पुर्याउन प्रतिबद्ध रहँदै आएको छ । नेपालभर सकारात्मक प्रभाव सिर्जना गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको एक हिस्साका रुपमा यस सहयोगमार्फत प्रभावित समुदायहरुको कल्याणमा योगदान गर्दै कठिन परिस्थितिसँग सामना गर्न सामूहिक प्रयासहरुलाई समर्थन गर्ने उद्देश्य राखेको छ ।
आईसीटी समाचार