कीवर्डहरू -

डिजिटल फिनटेकमा फड्को : अन्तर्राष्ट्रिय भुक्तानी अब सिधै खल्ती वालेटमा

डिजिटल फिनटेकमा फड्को : अन्तर्राष्ट्रिय भुक्तानी अब सिधै खल्ती वालेटमा

काठमाडौं । खल्ती बाइ आईएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा काम गर्दा प्राप्त हुने अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आइएमई मोबाइल वालेटबाट प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।

यसका लागि विदेशी सेवामा काम गरेको रकम पाउन खल्ती एपबाटै ‘भुक्तानी अनुरोध’ पठाउन सकिने छ । अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी बाहकले स्ट्राइप गेटवे मार्फत एसीएच, सेपा, भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे र इ-बैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै खल्ती एकाउन्टमा रकम भुक्तानी दिन सक्नेछन् ।

त्यस्तो भुक्तानी रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ । यसबाट भुक्तानीका लागि हप्तौँ कुर्नुपर्ने झन्झट अन्त्य भएको छ । यसरी स्ट्राइपसँगको साझेदारी मार्फत निर्माण गरेको ‘भुक्तानी संरचना’ले सुरक्षित, नियामकको मापदण्ड बमोजिम भरपर्दो अन्तरदेशीय कारोबार सुनिश्चित गर्ने जनाइएको छ ।

नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम
नेपालको डिजिटल जनशक्तिले वर्षौंदेखि भोग्दै आएको अन्तर्राष्ट्रिय भुक्तानी संकलनमा देखिएको समस्यालाई आइएमई खल्ती र स्ट्राइपको यस साझेदारीले समाधान दिने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी लिने प्रक्रियामा भएको अवरोध कम गर्दै यसले नेपालको डिजिटल अर्थतन्त्र विस्तारमा योगदान दिनेछ ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी प्रवीण रेग्मीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी रूपमा कमाउने र सो रकम तत्काल प्राप्त गर्न यो साझेदारीले ढोका खुलेको बताएका छन् ।

यो पहल नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण माइलस्टोन रहेको र यसले स्वदेशी डिजिटल वालेटले परिष्कृत र एकीकृत अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्ने पनि प्रमुख कार्यकारी रेग्मीले उल्लेख गरे ।