काठमाडौं । स्न्यापच्याटले ‘AI Sponsored Snaps’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ, जसले ब्रान्डहरूलाई च्याटभित्र एआई एजेन्टमार्फत प्रयोगकर्तासँग जोडिने नयाँ तरिका प्रदान गर्नेछ ।
यस सुविधाअन्तर्गत स्न्यापच्याटको च्याट ट्याबमा स्पोन्सर गरिएका एआई स्न्यापहरू देखिनेछन्, जहाँ ब्रान्डको नामसँगै हल्का खैरो ‘Ad’ चिन्ह रहनेछ । च्याट खोल्दा प्रयोगकर्ताले सम्बन्धित एआई एजेन्टसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्न र जानकारी लिन सक्नेछन् ।
यस पहलको पहिलो साझेदारी एक्सपेरियन (Experian) सँग गरिएको छ । उक्त कम्पनीको एआई बोटले बचत, क्रेडिट स्कोर सुधार, ऋण तथा क्रेडिट कार्ड सम्बन्धी जानकारी प्रदान गर्नेछ ।
तर, यस एआई एजेन्टले प्रयोगकर्तालाई विभिन्न वित्तीय उत्पादनहरू, जस्तै क्रेडिट कार्ड वा ऋणतर्फ लैजान सुझाव दिन सक्ने भएकाले यो सामान्य एआई च्याटबोटहरू (जस्तै Gemini वा Claude) भन्दा उपभोक्ताका लागि कति उपयोगी वा निष्पक्ष छ भन्नेबारे प्रश्न उठेको छ ।
स्न्यापच्याटका प्रमुख व्यवसाय अधिकृत अजीत मोहनले विज्ञप्तिमा भनेका छन्- अहिले विज्ञापनका लागि “संवाद” सबैभन्दा मूल्यवान क्षेत्र बन्दै गएको छ । उनका अनुसार एआईले यो परिवर्तनलाई तीव्र बनाइरहेको छ, जसले च्याटलाई उत्पादन खोज्ने, प्रश्न सोध्ने र तुरुन्त निर्णय गर्ने प्लेटफर्म बनाइरहेको छ । उनले वास्तविक अवसर केवल विज्ञापन राख्नु मात्र नभई मानिसहरू जसरी संवाद गर्छन्, त्यसैसँग मिल्ने प्राकृतिक शैलीका विज्ञापन सिर्जना गर्नु हो भनेका छन् ।
स्न्यापच्याटका अनुसार यसको “My AI” फिचर सुरु भएको तीन वर्षमा आधा अर्बभन्दा बढी प्रयोगकर्ताले यससँग सन्देश आदान प्रदान गरिसकेका छन् । तर सुरुवाती चरणमा यो एआई बोट किशोर प्रयोगकर्तालाई उपयुक्त नभएका सुझाव दिएको भन्दै आलोचना समेत भएको थियो ।
आईसीटी समाचार