कीवर्डहरू -

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने

काठमाडौं । नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीमा उद्योगले अपेक्षा गरेको व्यावहारिक सीप र क्षमता अभाव हुने गरेको छ ।

एकेडेमिया र इन्डस्ट्रीबीचको यही दूरीले आईटी क्षेत्रमा स्किल ग्यापको समस्या बढाउँदै आएको छ । डिग्री हातमा भएपनि हाल नेपालमा धेरै युवाले उद्योगमा प्रवेश गर्दा पुन: तालिम लिनुपर्ने अवस्था छ ।

यही समस्यालाई समाधान गर्ने उद्देश्यसहित नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूको एपेक्स बडी नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास-आईटी) ले इन्डस्ट्रीको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्याचलर्स तहको आईटी पाठ्यक्रम डिजाइन गर्न थालेको छ ।

यो पहल स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (SDC) र स्वीसकन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा अघि बढाइएको हो । इन्डस्ट्रीकै नेतृत्वमा उच्च शिक्षाको पाठ्यक्रम विकास हुन लागेको यो सम्भवत: नेपालको पहिलो प्रयास हुन सक्ने नास-आईटीका अध्यक्ष गौरव पाण्डे बताउँछन् ।

'तर इन्डस्ट्रीले खोजे अनुसारको सीप उनीहरूमा हुँदैन', पाण्डेले भने, 'त्यसैले अब बजारको मागअनुसारको पाठ्यक्रम निर्माण गर्दैछौं ।' सम्भवत: इन्डस्ट्रीले नेतृत्व लिएर पाठ्यक्रम डिजाइन हुन लागेको यो पहिलो पटक हो । अहिले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले आईटी इन्डस्ट्रीलाई आमूल रूपमा रूपान्तरण गरिरहेको छ । यस्तो अवस्थामा यो कोर्ष परम्परागत कोडिङ मात्र नभएर समस्या समाधान क्षमता, डेटा बुझाइ, क्रिटिकल थिंकिङ र एआईसँग काम गर्न सक्ने क्षमता भविष्यका लागि तयार पार्ने गरि डिजाइन हुने नास-आईटीको भनाइ छ ।

यस कोर्षले इन्डस्ट्री र एकेडेमियाका बीचको ग्यापलाई कम गर्दै दक्ष जनशक्ति विकासमा सहयोग गर्ने स्वीसकन्ट्याक्टको विश्वास रहेको छ । एआईले ल्याएको द्रुत परिवर्तनको दौरमा इन्डस्ट्रीलाई अनुकूलन हुन सक्ने र भविष्यमुखी सोच राख्ने जनशक्ति
चाहिएको छ । त्यसैलाई पूरा गर्न नास-आईटीले यसको नेतृत्व लिएको हो ।

नास-आईटीले पाठ्यक्रम विकासको काम सुरु गरिसकेको छ । नेशनल क्वालिफिकेशन फ्रेमवर्क (NQF) अनुसार तयार हुने यस पाठ्यक्रम विकासमा आईटी विज्ञ, शिक्षाविद् तथा अन्य सरोकारवालाहरू सक्रिय रूपमा संलग्न छन् ।

नास-आईटीका अनुसार कोर्षलाई भविष्यको प्रविधि र रोजगार बजारलाई लक्षित गर्दै भविष्यमुखी बनाइँदैछ । यस पाठ्यक्रमको संयुक्त निर्माण र सञ्चालनका लागि नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरिएको छ । निकट भविष्यमा सञ्चालन हुने यस चार वर्षे आईटी कोर्षको प्रमुख विशेषता वर्क-इन्टिग्रेटेड लर्निङ हुनेछ ।

कोर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा लगायत उदीयमान प्रविधिहरू समावेश हुने नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटी प्रमुख डा. भोज राज घिमिरेले जानकारी दिए ।

यस कोर्षमा विद्यार्थीहरूले अध्ययन सुरु गरेकै दिनदेखि आईटी इन्डस्ट्रीमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन् । डिग्री पूरा गर्दा उनीहरूसँग प्रमाणपत्रका साथै इन्डस्ट्रीले खोजेको व्यावहारिक सीप र अनुभव पनि हुनेछ ।

नास-आईटीका अनुसार यस पहलले इन्डस्ट्री र विश्वविद्यालयबीचको दूरी घटाउँदै नेपालमै विश्वस्तरको आईटी जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।