काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका २ भमके निवासी करिब २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । उनलाई मंगलबार राति उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियो चैत महिनामा रमेशको घर नजिकै रहेको बाँसघारी क्षेत्रमा खिचिएको थियो । भिडियोमा एक २१ वर्षीया युवतीमाथि गालीगलौज गर्दै चक्कु देखाइएको तथा कुटपिट गरिएको देखिन्छ । युवती रुँदै ‘अब गर्दिनँ’ भन्दै अनुरोध गरिरहेको दृश्यसमेत भिडियोमा कैद भएको छ ।
भिडियो सार्वजनिक भई व्यापक रूपमा फैलिन थालेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा आरोपीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार