कीवर्डहरू -

नेपालमा टिकटकको एक्सन : तीन महिनामै २० लाखभन्दा बढी भिडियो हटाइयो

नेपालमा टिकटकको एक्सन : तीन महिनामै २० लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ । कम्पनीले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टमा उक्त विवरण उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार हटाइएका भिडियो नेपालमा सो अवधिमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत हुन् । टिकटकले प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै ९९.५ प्रतिशत उल्लङ्घनकारी भिडियो पहिचान गरेर हटाएको जनाएको छ । 

त्यस्तै, नियम उल्लङ्घन गर्ने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको रिपोर्टमा उल्लेख छ । टिकटकले थप समीक्षा गरेपछि नेपालमा हटाइएका भिडियोमध्ये ३३ हजार ५०३ वटा पुन:स्थापना गरेको छ । 

हटाइएका सामाग्रीको समीक्षा र नियम कार्यान्वयन प्रक्रियाअन्तर्गत ती भिडियो पुन:स्थापना गरिएको कम्पनीले जनाएको छ । विश्वव्यापी रूपमा भने टिकटकले सोही तीन महिनाको अवधिमा १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ । 

यो प्लेटफर्ममा अपलोड भएका कुल सामाग्रीको करिब ०.५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको रिपोर्टमा उल्लेख छ ।

विश्वभर प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै ९९.५ प्रतिशत उल्लङ्घनकारी भिडियो हटाइएको र ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ । 
थप समीक्षा गर्दा ६२ लाख ६२ हजार ३८३ वटा भिडियो पुन:स्थापना गरिएका छन् । 

टिकटकले भिडियो हटाउनुका साथै नियम उल्लङ्घन गर्ने एकाउन्ट र कमेन्टमाथि पनि कारबाही गरेको छ । रिपोर्टअनुसार उक्त अवधिमा विश्वभर १४ करोड ६८ लाख ७ हजार ४०० वटा नक्कली एकाउन्ट हटाइएको छ । 

त्यस्तै, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका हुन सक्ने आशङ्का गरिएका २ करोड ६८ लाख ४० हजार ७६७ वटा एकाउन्ट हटाइएको कम्पनीले जनाएको छ । यस अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७ करोड ८३ लाख ८४ हजार ४६३ वटा कमेन्टसमेत हटाइएका छन् ।

टिकटकले लाइभ प्रसारणमा हुने गतिविधिमाथि पनि निगरानी बढाएको जनाएको छ । रिपोर्टअनुसार प्रकाशित लाइभ सामग्रीमध्ये २।४ प्रतिशत निलम्बन गरिएको थियो । 

नियम उल्लङ्घनसम्बन्धी कारबाहीका क्रममा ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिइएको वा आम्दानी गर्ने सुविधा हटाइएको थियो । 

समीक्षा प्रक्रियापछि २३ लाख ९८ हजार ८४६ वटा लाइभ सेसन पुन:स्थापना गरिएका छन् । टिकटकले स्वचालित प्रणालीको प्रयोगबाट नियम उल्लङ्घन गर्ने सामाग्री पहिचान र हटाउने कामलाई निरन्तरता दिएको जनाएको छ । 

कम्पनीले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै प्लेटफर्ममा सामाग्री व्यवस्थापन तथा नियम कार्यान्वयनसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ । रिपोर्ट तथा टिकटकका नियम र नीतिबारे थप जानकारी कम्पनीको ट्रान्सपरेन्सी सेन्टरमा उपलब्ध छ ।