काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) का डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् ।
त्रिविका उपकुलपति प्रा.डा. भोला थापा, संस्थानका डिन प्रा.डा. सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेललगायत पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएकाे थियाे ।
मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई मुलुकभित्रै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकार भएका निकायलाई आग्रह गरे ।
उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवर्द्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले योजनाबद्ध काम गर्ने स्पष्ट पारे ।
त्रिविका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न, इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थीलाई आकर्षण गर्नेगरी गुणस्तरीय शिक्षामा जोड दिन इन्जिनियरिङ अध्यापन गराउने कलेजहरूलाई आग्रह गरे ।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षणका लागि प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्न आग्रह गरे । शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोगको मापदण्डअनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर संस्थानअन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिए ।
उनले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्नेगरी काम गरिरहेको उल्लेख गरे । छलफलमा एकोन त्रिवि विभागका संयोजक पौडेलले इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन र प्रवेश परीक्षाको उत्तीर्णदर वृद्धि गर्न सक्नेगरी आईओइबाटै पहल गर्न सुझव दिए ।
छलफलमा काठमाडौं इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियर हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रमुख इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रमुख डा. केसर प्रसाईं, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेसनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पौडेललगायतको सहभागिता थियो ।
आईसीटी समाचार