कीवर्डहरू -

ड्राइभिङ लाइसेन्सको ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने

ड्राइभिङ लाइसेन्सको ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल पास गरेपछि अब नागरिक एपमै लाइसेन्स उपलब्ध हुने भएको छ । यो व्यवस्था आईतबारदेखि बागमती प्रदेशमा लागु हुँदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने र नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी दिएका छन् । 

यस बाहेक सरकारले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरेको छ । नागरिक एपबाटै जरिवाना डिजिटल रूपमा तिर्न सकिने छ ।यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हट्ने ओलीको भनाइ छ ।

सुरूमा यो व्यवस्था परीक्षणको रूपमा बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट लागु हुने छ । सबै सार्वजनिक सेवाहरू नागिरक एपबाटै दिने योजना अनुसार सरकारले नागरिक एप सञ्चालनमा ल्याएको छ । 

नागरिक एपमा अरू विभिन्न सेवा पनि थप्ने तयारी गरिएको ओलीले बताए । ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं,’ ओलीले भनेका छन्, ‘राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’