विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन हुने भएको छ । डिजिटल नेपाल फ्रेमवर्कलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन विश्व बैंकको सहयोगमा डिजिटल स्टार परियोजना सञ्चालन गर्न लागिएको हो ।
यसअघि पनि विश्व बैंकको सहयोगमा आएको डिजिटल नेपाल एक्सिलेरेसन (डिएनए) परियोजना कार्यान्वयन हुन नसक्दा १४ करोड अमेरिकी डलर फिर्ता गएको थियो । डीएनए परियोजना कार्यान्वयन हुन नसकेपछि विश्व बैंकले केही फरक मोडालिटीमा सञ्चालन गर्ने गरी डिजिटल स्टार कार्यक्रम प्रस्ताव गरेको थियो ।
उक्त परियोजनाको मोडालिटी बनाउने काम अहिले भइरहेको छ । डिजिटल स्टार परियोजना यसअघिको डिएनए परियोजना जस्तै भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले बताए ।
‘डिजिटल स्टार पनि डीएनए परियोजना जस्तै हो । नयाँ प्रोजेक्ट नयाँ मोडालिटीमा सञ्चालन गर्ने तयारी छ,’ दत्तले आईसीटी समाचारसँग भने, ‘डिजिटल स्टार परियोजनाका लागि हामीले ६० मिलियन डलर रकम प्रस्ताव गरेका छौं ।’
डिजिटल स्टार परियोजनाको रकम साइबर सुरक्षा पूर्वाधार, नीति निर्माण, डिजिटल साक्षरता, प्रोफेसनल तालिम लगायतमा खर्च हुनेछ । डिजिटल स्टार परियोजनाका लागि नेपालले ६० मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार ७ अर्ब ९८ करोड नेपाली रूपैयाँ) प्रस्ताव गरेपनि अझै अन्तिम टुंगोमा भने पुगेको छैन् ।
डिजिटल स्टारमा इन्टरनेट पूर्वाधारको विषय भने राखिएको छ । दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर प्राधिकरणले इन्टरनेट पूर्वाधार विस्तार गरिरहेकाले नराखिएको दत्तको भनाइ छ । 
यसअघिको डीएनए परियोजनामा भने इन्टरनेट कनेक्टिभिटी सुधारमा समेत रकम खर्च गर्ने विषय समावेश रहेको थियो । 
नयाँ मोडालिटी अनुसार डिजिटल स्टार अन्तर्गत सञ्चालन हुने परियोजनामा सुरूमा बजेटमार्फत घोषणा गरेर नेपाल सरकारले लगानी गर्नेछ । सरकारले खर्च गरेको एकवर्ष भित्रमा विश्व बैंकले सो रकमको शोध भर्ना गर्नेछ । यसका लागि विश्व बैंकले अर्थ मन्त्रालयमा पत्र समेत पठाइसकेको छ । विश्व बैंकसँग छलफल गरेर आगामी आर्थिक वर्षको बजेटमा केही कार्यक्रमहरू राखिएको उनले जानकारी दिए । 
 
 
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                  



 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      