कीवर्डहरू -

भोटेकोशी बाढीको प्रभावपछि पोखरा विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

भोटेकोशी बाढीको प्रभावपछि पोखरा विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले स्नातक तहअन्तर्गत सञ्चालन हुँदै आएको वार्षिक परीक्षा स्थगित गरेको छ ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ‘स्प्रिङ २०२६’ अन्तर्गत भदौ १३, १४ र १५ गतेका लागि निर्धारित स्नातक तहका सबै विषयका परीक्षा स्थगित गरेको हो ।

परीक्षा नियन्त्रक राजु पाण्डेयका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सूचना जारी गर्दै परीक्षा स्थगनबारे जानकारी दिएको हो । स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ ।

यस्तै अन्य पूर्वनिर्धारित परीक्षाहरू भने तोकिएकै मितिमा सञ्चालन हुने परीक्षा नियन्त्रक पाण्डेयले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीका कारण बागमती प्रदेशसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण विभिन्न जिल्लाबाट तीर्थयात्राका लागि गएका केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।