कीवर्डहरू -

एआई र साइबर सुरक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न टेकपाइला-केसीसीबीच सम्झौता

एआई र साइबर सुरक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न टेकपाइला-केसीसीबीच सम्झौता

काठमाडौं । नेपालमा सूचना प्रविधि शिक्षा र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित टेकपाइला इनोभेसन प्रा.लि. र कान्तिपुर सिटी कलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार दुवै संस्थाले आर्टिफिसियल इन्टेलिजेन्स र साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्नेछन् । विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा व्यावहारिक ज्ञान र उद्योगस्तरीय अनुभव प्रदान गर्दै उनीहरूलाई ‘इन्डस्ट्री रेडी’ बनाउने लक्ष्य लिइएको जनाइएको छ ।

सहकार्यअन्तर्गत केसीसीका विद्यार्थी तथा प्राध्यापकहरूका लागि विशेष प्राविधिक तालिम, कार्यशाला, बुटक्याम्प र सेमिनार सञ्चालन गरिनेछ । साथै, योग्य विद्यार्थीहरूले टेकपाइलामा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नुका साथै विभिन्न प्रविधि कम्पनीहरूसँग रोजगारीका अवसर समेत पाउने बताइएको छ ।

दुवै संस्थाले वर्तमान विश्व बजारको मागअनुसार पाठ्यक्रम परिमार्जनमा समेत सहकार्य गर्नेछन् । त्यसका साथै विद्यार्थीहरूमा नवप्रवर्तन र अनुसन्धान संस्कृतिको विकास गर्न ‘ह्याकाथन’, ‘आइडिया फेस्ट’ तथा उद्योग–शिक्षा संवाद कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै चिरञ्जीबी अधिकारीले प्रविधि शिक्षामा प्रयोगात्मक अभ्यासको महत्व बढ्दै गएको उल्लेख गरेका छन् । उनले उद्योगको अनुभवलाई प्रत्यक्ष रूपमा शैक्षिक संस्थासँग जोड्दा नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव पर्ने बताए ।

त्यस्तै, प्रिन्सिपल राजु कट्टेलले केसीसीले विद्यार्थीहरूलाई गुणस्तरीय प्रविधि शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यो सहकार्यले उनीहरूलाई थप अवसर र अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक क्षमता हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सम्झौतामा एआईमा आधारित सामाजिक प्रभावका समाधान विकास, सुरक्षा अडिट तथा प्राविधिक अनुसन्धानमा सहकार्य गर्ने विषय पनि समेटिएको छ । दुवै संस्थाले नेपालको डिजिटल रूपान्तरण अभियानलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

दुई वर्षका लागि गरिएको उक्त सम्झौतालाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत दुवै पक्षले जनाएका छन् ।