काठमाडौं । ललितपुर महानगरपालिका ३ ले नागरिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कृत्रिम बौद्धिकता (एआई) सहायक सेवा सञ्चालनमा ल्याएको छ । अब वडावासीले २४ सै घण्टा एआईमार्फत गुनासो दर्ता गर्न, वडा कार्यालयका सेवाबारे जानकारी लिन तथा विभिन्न सार्वजनिक सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।
वडाले सुरु गरेको यो डिजिटल सेवामार्फत नागरिकले वडा कार्यालय पुग्नुपर्ने झन्झट बिना नै टेलिफोन, टेक्स्ट वा भ्वाइस सन्देशमार्फत आफ्नो समस्या राख्न सक्ने व्यवस्था गरिएको छ । प्राप्त गुनासोहरू एआई प्रणालीले रेकर्ड गर्नेछ भने कार्यालय खुलेको समयमा वडा कार्यालयले त्यसको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
वडा अध्यक्ष श्रीगोपाल महर्जनका अनुसार नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले एआई सहायक सञ्चालनमा ल्याइएको हो । उनका अनुसार अब वडाको सेवा, योजना, सार्वजनिक सूचना, धर्म संस्कृति, सम्पदा, शिक्षा, स्वास्थ्य तथा पर्यटकीय क्षेत्रलगायतका विषयमा जानकारी लिन वडा कार्यालय धाइरहनुपर्ने आवश्यकता रहने छैन ।
यो एआई प्रणाली वडा नं. ३ को आधिकारिक तथ्यांक र परिचय पुस्तकमा आधारित जानकारी प्रयोग गरी तयार गरिएको हो । त्यसैले यसले वडासँग सम्बन्धित सेवाहरूका बारेमा सटीक जानकारी उपलब्ध गराउनेछ । साथै, नागरिकता सिफारिस, घरबाटो, नक्सा, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा, जेष्ठ नागरिक सेवा, पार्किङ व्यवस्थापनलगायतका विषयमा जानकारी र गुनासो दुवै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
एआई सहायक विकास गर्ने कम्पनी एआई डेभलपर्स ब्ल्यु ओभलका अनुसार यो प्रणाली विशेष रूपमा वडा नं. ३ का लागि तयार गरिएको हो । च्याटजीपीटीजस्तै प्रविधिमा आधारित भएपनि यसलाई वडाको सेवा र स्थानीय जानकारीमा केन्द्रित गरी विकास गरिएको कम्पनीको भनाइ छ ।
सेवा प्रयोग गर्न इच्छुक नागरिकले ०१–५९७००७५ नम्बरमा फोन गर्न वा टेक्स्ट तथा भ्वाइस सन्देशमार्फत सम्पर्क गर्न सक्नेछन् । गुनासो दर्ता गर्दा आफ्नो परिचय र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
करिब एक महिनाको तयारीपछि सञ्चालनमा आएको यो सेवा स्थानीय तहको वडा स्तरमा एआई सहायक प्रयोगको प्रारम्भिक उदाहरणमध्ये एक भएको वडा कार्यालयको दाबी छ । हाल नेपाली भाषामा सेवा सुरु गरिएको यस प्रणालीलाई आगामी दिनमा अन्य भाषामा पनि विस्तार गर्ने योजना रहेको जनाइएको छ ।
आईसीटी समाचार