कीवर्डहरू -

एआईको सहयोगमा डस्टी प्लाज्माभित्र लुकेका नयाँ भौतिक नियमहरूको आविष्कार

एआईको सहयोगमा डस्टी प्लाज्माभित्र लुकेका नयाँ भौतिक नियमहरूको आविष्कार

काठमाडौं । भौतिकशास्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी प्रकृतिमा लुकेर रहेका नयाँ नियमहरू पत्ता लगाउने दिशामा उल्लेखनीय सफलता हासिल गरेका छन् । एमोरी युनिभर्सिटीको अनुसन्धान टोलीले विशेष रूपमा डिजाइन गरिएको न्युरल नेटवर्क र डस्टी प्लाज्माभित्रका कणहरूको सूक्ष्म थ्रीडी ट्र्याकिङलाई संयोजन गर्दै कणहरूबीच हुने जटिल अन्तरक्रियाका लुकेका ढाँचा उजागर गरेको हो ।

पदार्थको चौथो अवस्था मानिने प्लाज्मा अन्तरिक्षदेखि पृथ्वीको डढेलोसम्म पाइने एक विशेष अवस्था हो । यसमा ग्यास आयनीकृत भएर इलेक्ट्रोन र आयनहरू स्वतन्त्र रूपमा बहन्छन् । यही कारण प्लाज्माले विद्युत् चालकता जस्ता अद्वितीय गुणहरू देखाउँछ । वैज्ञानिकहरूका अनुसार देखिने ब्रह्माण्डको झण्डै ९९.९ प्रतिशत भाग प्लाज्माले बनेको छ ।

डस्टी प्लाज्मा भने आयन र इलेक्ट्रोनसँगै साना धुलोका कणहरू समेत मिसिएको अवस्था हो, जुन शनि ग्रहका घेरादेखि पृथ्वीको आयन मण्डलसम्म भेटिन सक्छ । यही जटिल अवस्थाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले प्रयोगशालामा भ्याकुम च्याम्बर, लेजर र उच्च गतिको क्यामराको सहायताले कणहरूको चाल अत्यन्त सूक्ष्म रूपमा रेकर्ड गरेका थिए ।

त्यसपछि सङ्कलित तथ्याङ्कलाई एआई मोडेलमा विश्लेषण गर्दा, यसले कणहरूबीच हुने ‘नन–रेसिप्रोकल फोर्सेस’ अर्थात् गैर-पारस्परिक बललाई ९९ प्रतिशतभन्दा बढी शुद्धताका साथ व्याख्या गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यो बलको विशेषता के हो भने एउटा कणले अर्कोलाई गरेको प्रभाव र अर्को कणले दिने प्रतिक्रिया समान हुँदैन ।

अनुसन्धान टोलीले यसलाई तालमा गुडिरहेका दुई डुङ्गाको उदाहरणसँग तुलना गरेको छ । अगाडिको डुङ्गाले बनाएको छालले पछाडिको डुङ्गालाई तान्न सक्छ, तर पछाडिको डुङ्गाले अगाडिको डुङ्गालाई फरक ढंगले प्रभाव पार्छ । डस्टी प्लाज्मामा पनि यस्तै अनौठो व्यवहार देखिएको छ, जहाँ अगाडिको कणले पछाडिको कणलाई आकर्षित गर्ने तर पछाडिकोले अगाडिको कणलाई विकर्षण गर्ने प्रवृत्ति देखिएको छ ।

पहिलेका सिद्धान्तहरूले कणको विद्युतीय चार्ज र आकारबीचको सम्बन्धलाई सरल रूपमा व्याख्या गर्ने प्रयास गरेका थिए । तर एआईको विश्लेषणले यो सम्बन्ध प्लाज्माको घनत्व र तापक्रममा निर्भर हुने जटिल प्रक्रिया रहेको देखाएको छ ।

वैज्ञानिकहरूले यो एआई विधि ‘ब्ल्याक बक्स’ जस्तो नभई मानिसले बुझ्न र व्याख्या गर्न सक्ने प्रकारको भएको बताएका छन् । यसले कणहरूको गतिलाई तीन मुख्य प्रभावमा विभाजन गरेर अध्ययन गर्छ- वेगका कारण हुने अवरोध, गुरुत्वाकर्षणजस्ता वातावरणीय बल र कणहरूबीचको आपसी बल ।

अनुसन्धानका अनुसार यो प्रविधि भौतिकशास्त्रमा मात्र सीमित छैन । बायोइन्जिनियरिङ र जीवविज्ञानमा पनि यसको ठूलो सम्भावना देखिएको छ । क्यान्सरका कोषिकाहरू कसरी फैलिन्छन्, वा चराहरूको बथान र मानिसको भीडमा सामूहिक व्यवहार कसरी विकास हुन्छ भन्ने बुझ्न यो उपयोगी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यो उपलब्धिले एआईलाई केवल तथ्याङ्क विश्लेषण गर्ने उपकरणको रूपमा होइन, प्रकृतिका नयाँ नियमहरू पत्ता लगाउने सहयात्रीका रूपमा पनि स्थापित गरेको छ ।