कीवर्डहरू -

बाँदर आतंक समाधान गर्ने एआई आधारित अवधारणाले जित्यो 'बिल्ड नेपाल ह्याकाथन २०२६'

बाँदर आतंक समाधान गर्ने एआई आधारित अवधारणाले जित्यो 'बिल्ड नेपाल ह्याकाथन २०२६'

काठमाडौं । नेपालका वास्तविक सामाजिक तथा आर्थिक समस्याको प्रविधिमार्फत समाधान खोज्ने उद्देश्यले आयोजित ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ सम्पन्न भएको छ । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुई दिने प्रतियोगितामा ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट किसानको बाली जोगाउने प्रविधिमा आधारित परियोजना उत्कृष्ट घोषित भएको छ ।

‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित अगस्ट १ र २ मा सम्पन्न ह्याकाथनमा विभिन्न शैक्षिक संस्थाका ६० भन्दा बढी युवाले सहभागिता जनाएका थिए । उनीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड कम्प्युटिङ प्रयोग गरी नेपालका चुनौती समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गरेका थिए ।

प्रतियोगिताको ग्रान्ड प्राइज सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले जित्यो । टोलीले ग्रामीण क्षेत्रमा किसानले भोग्दै आएको बाँदर आतंकलाई प्रविधिको सहायताले नियन्त्रण गर्ने समाधान प्रस्तुत गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो ।

दोस्रो स्थान मिड भ्याली इन्टरनेसनल कलेजकै विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित ‘सेन्टिनाज’ टोलीले हासिल गर्‍यो । टोलीले डिजिटल प्रविधिमार्फत सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने अवधारणा प्रस्तुत गर्दै २५ हजार रुपैयाँ पुरस्कार जित्यो ।

प्रतियोगितामा सहभागी २१ टोलीले स्मार्ट कृषि, स्मार्ट सिटी, शिक्षा, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रजस्ता विषयमा नवीन समाधान विकास गरेका थिए । आयोजकका अनुसार सहभागी सबै परियोजनाले न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) तयार गरी निर्णायकसमक्ष प्रत्यक्ष प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए । प्रोशोर, पिनाकिन टेक्नोलोजिज, जेनेसे, भायानेट, दामी एक्सपिरियन्सलगायतका संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

आयोजकका अनुसार ह्याकाथनको उद्देश्य विद्यार्थीलाई केवल अवधारणा प्रस्तुत गर्ने अवसर दिनु मात्र नभई नेपालका वास्तविक समस्यालाई प्रविधिमा आधारित व्यावहारिक समाधानमा रूपान्तरण गर्न प्रेरित गर्नु हो । ज्ञानेश्वरस्थित मिड भ्याली इन्टरनेसनल कलेजले आगामी दिनमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।