काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कृत्रिम बुद्धिमत्ता एआईको बढ्दो प्रयोगले भविष्यमा ऊर्जा तथा पानीको गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृत्रिम बुद्धिमत्ताको तीव्र विस्तारसँगै त्यसका वातावरणीय प्रभावबारे समयमै नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार कृत्रिम बुद्धिमत्तामा आधारित ठूला तथ्याङ्क केन्द्र सञ्चालनका लागि अत्यधिक ऊर्जा र पानी आवश्यक पर्ने भएकाले आगामी दिनमा वातावरणीय चुनौती थप जटिल बन्न सक्छ ।
पाण्डेले कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै जाँदा जलवायु परिवर्तन, वन विनाश तथा प्राकृतिक स्रोतसाधनमाथिको दबाबसमेत बढ्न सक्ने बताए । उनले अहिलेको विश्व कृत्रिम बुद्धिमत्ताको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै यसको सकारात्मक र नकारात्मक दुवै पक्षलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।
उनले कृत्रिम बुद्धिमत्ता नेपाली कृषि क्षेत्रको आधुनिकीकरण र किसानको उत्पादन वृद्धि गर्न उपयोगी साधन बन्न सक्ने बताए । किसानलाई आवश्यक तथ्याङ्क, सूचना र प्रविधिको पहुँच सुनिश्चित गर्दै वातावरणीय असरलाई न्यून गर्ने उपाय खोज्नु अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ थियो ।
पाण्डेले सरकार तथा सरोकारवाला निकायहरूले बदलिँदो परिस्थिति अनुसार उपयुक्त कानुन, नियम र नियामक संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । साथै, नीति निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन संस्थागत नीतिगत तथा अनुसन्धान क्षमतालाई सुदृढ बनाउनु पर्ने आवश्यकता पनि औंल्याए ।
कार्यक्रममा उनले समाजशास्त्री इमानुएल वालरस्टिनको सिद्धान्त प्रस्तुत गर्दै ज्ञान, तथ्याङ्क र आर्थिक स्रोतको असमान वितरणबारे चिन्ता व्यक्त गरे । उनका अनुसार विकासशील मुलुकहरूले कच्चा पदार्थ र तथ्याङ्क उत्पादन गरे पनि त्यसको मूल्य अभिवृद्धि विकसित मुलुकहरूमा हुने गरेको छ ।
उनले यस्तो अवस्था निरन्तर रहिरहेमा विकसित र विकासशील मुलुकबीचको दूरी अझ बढ्ने तथा समाजभित्र आर्थिक र डिजिटल असमानता थप गहिरिने चेतावनी दिए ।
राष्ट्रिय हितको संरक्षण, डिजिटल असमानता न्यूनीकरण तथा स्वदेशमै ज्ञान उत्पादन र अनुसन्धानलाई प्रोत्साहन गर्न प्रभावकारी नीतिगत पहल आवश्यक रहेको उनको भनाइ थियो ।
आईसीटी समाचार