काठमाडौं । ओपनएआईले च्याटजीपीटीका लागि नयाँ सेफ्टी फिचर ‘ट्रस्टेड कन्ट्याक्ट’ रोलआउट गरेको छ । यो फिचर विशेष गरी १८ वर्षभन्दा माथिका प्रयोगकर्ताहरूको मानसिक सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको हो । यस फिचरमार्फत प्रयोगकर्ताले कुनै भरोसायोग्य व्यक्ति, जस्तै साथी, परिवारका सदस्य वा केयरगिभरलाई आफ्नो ट्रस्टेड कन्ट्याक्टका रूपमा छान्न सक्छन् । यसबाट च्याटजीपीटीका अटोमेटेड सिस्टमलाई यदि प्रयोगकर्तासँगको कुराकानीमा सेल्फ-हार्म (आत्महत्या वा आफूलाई हानि पुर्याउने) वा गम्भीर मानसिक संकटका संकेतहरू भेटिए भने, तुरुन्तै चयन गरिएको व्यक्तिलाई अलर्ट पठाउन सक्नेछ। यसको उद्देश्य संकटको समयमा प्रयोगकर्तालाई समयमै सहायता उपलब्ध गराउनु हो ।
च्याटजीपीटी मानसिक स्वास्थ्य सहयोग: छानिएको व्यक्तिलाई सूचना कहाँ पुग्छ ?
यदि च्याटजीपीटीलाई प्रयोगकर्तामाथि गम्भीर जोखिम रहेको जस्तो लाग्यो भने, उसले ट्रस्टेड कन्ट्याक्टलाई इमेल, एसएमएस, वा इन-एप अलर्टमार्फत सूचना पठाउन सक्छ । यो फिचर हाल विश्वभरका १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । दक्षिण कोरियामा भने यसको न्यूनतम उमेर १९ वर्ष तोकिएको छ ।
के सबै च्याटहरू देखाइन्छन् ?
होइन, ओपनएआईले यहाँ प्राइभेसीको पनि ध्यान राखेको छ । कम्पनीले स्पष्ट पारेको छ कि अलर्टमा प्रयोगकर्ताका च्याटहरूको पूरा विवरण वा कुनै निजी जानकारी साझा गरिँदैन । त्यसले केवल सामान्य चेतावनी र सहायता सम्बन्धी स्रोतहरूको जानकारी मात्र दिन सक्छ ।
मानसिक स्वास्थ्यमा एआईको बढ्दो फोकस
यो ट्रस्टेड कन्ट्याक्ट फिचर मानसिक स्वास्थ्य विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू र अमेरिकन साइकोलोजिकल एसोसिएसनजस्ता संस्थाहरूको सुझावका आधारमा विकास गरिएको हो । ओपनएआईका अनुसार, यो फिचर च्याटजीपीटीका पहिले नै रहेका सेफ्टी सिस्टमहरूसँग मिलेर काम गर्नेछ, जसमा क्राइसिस हेल्पलाइन सुझाव, इमरजेन्सी सपोर्ट रिफरल्स, र सेल्फ-हार्म निर्देशनहरू ब्लक गर्ने जस्ता सुरक्षा उपायहरू समावेश छन् ।
आईसीटी समाचार