काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्त अर्जुन घिमिरेले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार अध्यक्षमा नियुक्त भएका घिमिरेलाई सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्तिपत्र प्रदान गर्दै मन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका घिमिरेले निष्पक्ष, पारदर्शी र परिणाममुखी ढंगले प्राधिकरणको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । नियामक निकायको भूमिका प्रभावकारी बनाउन कानुनअनुसार जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रका विद्यमान चुनौती समाधानलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले सेवा प्रवाहको गुणस्तर सुधार, उपभोक्ताको हित संरक्षण तथा सुशासन प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउँदै अधिकारको दुरुपयोग नगरी स्पष्ट अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गर्न सुझाव दिए ।
पदभार ग्रहणपछि अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका समस्या पहिचान गरी समाधानमुखी ढंगले काम गर्ने प्रतिबद्धता जनाए । कानुन, नीति र नियमको पूर्ण पालना गर्दै दूरसञ्चार सेवाको विस्तार, गुणस्तर अभिवृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर आफ्नो कार्यकाल अघि बढाउने उनले बताए ।
आईसीटी समाचार