काठमाडौं । भरतपुर अस्पतालले बिरामीलाई अस्पताल धाइरहनुपर्ने बाध्यता कम गर्न प्रयोगशाला रिपोर्ट अनलाइनबाटै हेर्न सकिने सुविधा सुरु गरेको छ । अब अस्पतालको वेबसाइटमार्फत घरबाटै आफ्नो ल्याब रिपोर्ट हेर्न तथा प्रिन्ट गर्न सकिने भएको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेका अनुसार उपचारको शुल्क तिर्दा प्राप्त हुने बिलमै प्रयोगकर्ताको युजरनेम र पासवर्ड उल्लेख हुन्छ । उक्त विवरण प्रयोग गरी अस्पतालको वेबसाइटमा रहेको ‘ल्याब रिपोर्ट’ विकल्पमा गएर सम्बन्धित बिरामीले आफ्नो परीक्षणको नतिजा हेर्न सक्नेछन् ।
अस्पतालले सेवाग्राहीको समय बचत गर्न भेन्डिङ मेसिनबाट टिकट तथा रिपोर्ट लिन सकिने व्यवस्था पनि गरेको छ । अस्पताल परिसरमा राखिएका दुईवटा भेन्डिङ मेसिनबाट बहिरङ्ग सेवा (ओपीडी) को टिकट र प्रयोगशाला रिपोर्ट प्राप्त गर्न सकिने डा. बगालेले बताए ।
यस व्यवस्थाले विशेषगरी ओपीडीमा आउने बिरामीलाई टिकट तथा रिपोर्टका लागि छुट्टाछुट्टै काउन्टरमा लामो समय लाइन बस्नुपर्ने समस्या कम गर्ने अस्पतालको अपेक्षा छ । भरतपुर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ ।
अस्पतालका अनुसार दैनिक करिब ३ हजार ८ सय बिरामी बहिरङ्ग सेवाका लागि पुग्ने गरेका छन् । सेवा सुविधा विस्तार हुँदै गएसँगै बिरामीको संख्या पनि बढिरहेको डा। बगालेले बताए ।
६२० शय्या सञ्चालनमा रहेको अस्पतालमा चितवन बाहेक आसपासका २५ जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा प्रदान गर्ने अस्पतालका रूपमा पनि भरतपुर अस्पतालको भूमिका महत्वपूर्ण छ ।
निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमामार्फत उपचार सेवा बन्द भएपछि बीमा सुविधाबाट उपचार लिन भरतपुर अस्पताल पुग्ने बिरामीको संख्या थप बढ्दै गएको अस्पतालले जनाएको छ ।
आईसीटी समाचार