कीवर्डहरू -

एमपावर प्रणाली अपडेटका कारण तीन दिन बिलिङ सेवा प्रभावित, अनलाइन भुक्तानी भने नियमित

एमपावर प्रणाली अपडेटका कारण तीन दिन बिलिङ सेवा प्रभावित, अनलाइन भुक्तानी भने नियमित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एमपावर (MPower) बिलिङ प्रणालीमा प्राविधिक सुधार गर्न लागिएकाले तीन दिनसम्म मिटर रिडिङ र नयाँ बिल जारी गर्ने सेवा प्रभावित हुने जनाएको छ ।

प्राधिकरणका अनुसार नेपाल सरकारको निर्णयअनुसार विद्युत महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्न बिलिङ प्रणालीमा आवश्यक ‘प्याच अपडेट’ गर्न लागिएको हो ।

यसका लागि साउन १७ देखि १९ गतेसम्म एमपावर प्रणालीमार्फत हुने मिटर रिडिङ तथा नयाँ बिल बनाउने काम देशभरका वितरण केन्द्रमा अस्थायी रूपमा रोकिनेछ ।

तर, यसअघि जारी भइसकेका विद्युत बिलको भुक्तानीमा भने कुनै असर नपर्ने प्राधिकरणले स्पष्ट पारेको छ । सेवाग्राहीले ई-सेवा, खल्ती, मोबाइल बैंकिङ तथा अन्य डिजिटल माध्यमबाट विद्युत महसुल यथावत् तिर्न सक्नेछन् ।

प्राधिकरणले प्रणालीलाई नयाँ भ्याट व्यवस्थाअनुसार सञ्चालन गर्न यो अद्यावधिक आवश्यक रहेको जनाएको छ । अद्यावधिक सम्पन्न भएपछि बिलिङ प्रक्रिया अझ व्यवस्थित, सहज र कानुनअनुकूल हुने विश्वास पनि प्राधिकरणले व्यक्त गरेको छ ।

साथै, सेवा अवरुद्ध हुने अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधा प्रति क्षमा माग्दै आवश्यक सहयोग र धैर्यका लागि प्राधिकरणले अनुरोध गरेको छ ।

null