कीवर्डहरू -

दुर्गम समुदायका आवाज संघीय स्वास्थ्य नीतिसम्म पुर्‍याउँदै ‘द लास्ट माइल डिजिटल हेल्थ समिट’

दुर्गम समुदायका आवाज संघीय स्वास्थ्य नीतिसम्म पुर्‍याउँदै ‘द लास्ट माइल डिजिटल हेल्थ समिट’

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आयोजित ‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ ले दुर्गम क्षेत्रका स्वास्थ्य सेवासम्बन्धी अनुभव र आवश्यकतालाई प्रदेशस्तरीय नीतिगत छलफलसम्म पुर्‍याएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार समिटको पहिलो चरण बाजुराका गाउँ, स्वास्थ्य चौकी र समुदायमा केन्द्रित थियो, जहाँ आमा, परिवार, महिला स्वास्थ्य स्वयंसेविका, अग्रपंक्तिका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सेवाग्राहीसँग स्वास्थ्य सेवाका चुनौतीबारे प्रत्यक्ष संवाद गरिएको थियो ।

उनीहरूले दुर्गम बस्तीमा सडक, दूरी वा पूर्वाधारको अभावका कारण स्वास्थ्य सेवा प्रभावित हुन नहुने सन्देश दिएका थिए । यही अनुभवलाई आधार बनाएर धनगढीमा आयोजित प्रदेशस्तरीय समिटमा प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्य प्रणालीका व्यवस्थापक, स्थानीय तह, विकास साझेदार तथा स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी भएका थिए ।

null

समिटमा स्थानीय तहबाट प्राप्त अनुभवलाई नीतिनिर्माणसँग जोड्ने, टेलिहेल्थमार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल प्रविधिलाई अग्रपंक्तिका स्वास्थ्यकर्मीको सहयोगी उपकरणका रूपमा प्रयोग गर्ने तथा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सुदूरपश्चिममा प्राप्त अनुभव अब सोही प्रदेशमा मात्र सीमित नरही देशका अन्य दुर्गम समुदायमा पनि डिजिटल स्वास्थ्य सेवाको विस्तार, नीति निर्माण, योजना तथा लगानीका लागि उपयोगी आधार बन्न सक्ने विश्वास गरिएको छ ।

समिट सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सामुदायिक प्रतिनिधि, स्वयंसेवक, सञ्चारमाध्यम, विकास साझेदार तथा अन्य सहयोगी संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

समिटको अर्को तथा अन्तिम चरण साउन ३ गते (जुलाई १९) काठमाडौंमा आयोजना हुने जनाइएको छ । संघीयस्तरमा हुने उक्त समिटमा दुर्गम क्षेत्रका अनुभव, प्रदेशस्तरीय प्रतिबद्धता, राष्ट्रिय स्वास्थ्य नीति, लगानी, नवप्रवर्तन तथा दिगो साझेदारीका विषयमा व्यापक छलफल हुनेछ ।

आयोजकका अनुसार स्वास्थ्य क्षेत्रका नीति निर्माता, सरकारी निकाय, विकास साझेदार, स्वास्थ्यकर्मी, प्रविधि विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहनेछ । समिटमा सहभागी हुन इच्छुक व्यक्तिले आयोजकले खुला गरेको अनलाइन दर्ता प्रणाली https://lmdhf.org/register मार्फत दर्ता गर्न सक्नेछन् ।