कीवर्डहरू -

पहिलो पटक ल्यापटप किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् उपयुक्त ल्यापटप

पहिलो पटक ल्यापटप किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् उपयुक्त ल्यापटप

पहिलो पटक ल्यापटप किन्नु महत्त्वपूर्ण निर्णय हो । आफ्नो आवश्यकता र बजेटअनुसार सही विकल्प छान्नुपर्ने हुन्छ ।

बजारमा धेरै ब्राण्डका ल्यापटप उपलब्ध छन् । त्यस्तो अवस्थामा कुन ल्यापटप छनौट गर्ने भन्ने दुविधा हुन सक्छ । 

यदी तपाईं पहिलो पटक ल्यापटप किन्दै हुनुहुन्छ भने केही विशेष पक्षहरूमा ध्यान दिनुपर्छ । आउनुहोस्, के के कुरामा ध्यान दिनुपर्छ जानौं ।

ल्यापटपका स्पेसिफिकेसनको तुलना गर्नुहोस्  

कम मूल्यमा राम्रो ल्यापटप पहिचान गर्नका लागि तपाईंले ल्यापटपको प्रोसेसर (सीपीयू), र्याम, ग्राफिक्स कार्ड (जीपीयूू), स्टोरेज (हार्ड ड्राइभ वा एसएसडी), अपरेटिङ सिस्टम (ओएस) र ब्याट्री लाइफजस्ता पक्षहरूमा ध्यान दिनुपर्छ । सही स्पेसिफिकेसनको सन्तुलन पत्ता लगाउनका लागि रिसर्च गर्नुहोस् । विभिन्न मोडेलहरूको तुलना गर्नुहोस्, जसले तपाईंको बजेट नबढाई आवश्यकता पूरा गर्न सकोस् ।

बजेट र आवश्यकता

ल्यापटप किन्ने पहिलो कदम तपाईंका विशेष आवश्यकता र उद्देश्यको पहिचान गर्नु हो । के तपाईं गेमर हुनुहुन्छ, उच्च प्रदर्शन आवश्यक पर्ने प्रोफेसनल हुनुहुन्छ, विद्यार्थी हुनुहुन्छ वा केवल वेब ब्राउजिङ र मिडिया कन्जम्प्सनका लागि ल्यापटप प्रयोग गर्ने व्यक्ति हुनुहुन्छ ? आफ्नो आवश्यकता पहिचान गर्नुहोस् ।

आफ्ना आवश्यकताहरू पहिचान गर्नाले विकल्पहरूको संख्या घटाउन र उपयुक्त ल्यापटप छान्न सहयोग पुर्‍याउँछ । यसर्थ, ल्यापटप किन्नु अघि तपाईंले तय गर्नुपर्छ कि यो कुन कामका लागि प्रयोग हुनेछ । त्यसै आधारमा बजेट निर्धारण गर्नुपर्छ।  

स्क्रिन साइज

ल्यापटपको स्क्रिन साइज पनि अत्यन्त महत्त्वपूर्ण कुरा हो । कहिलेकाहीँ हामी हतारमा आवश्यकता भन्दा ठूलो वा सानो स्क्रिन साइज भएको ल्यापटप लिन्छौं, जसले पछि समस्या निम्त्याउन सक्छ । यदि तपाईं विद्यार्थी हुनुहुन्छ र ल्यापटप लामो समयसम्म बोक्नुपर्छ भने सानो स्क्रिन साइज भएको र कम्प्याक्ट ल्यापटप रोज्नुहोस्, ताकि कलेज लैजान समस्या नहोस् ।

तर, यदि तपाईं ग्राफिक्स, एडिटिङ, वा प्रोग्रामिङको लागि ल्यापटप लिँदै हुनुहुन्छ भने ठूलो स्क्रिन र किबोर्ड भएको ल्यापटप लिनुपर्छ । आफ्नो बजेटअनुसार उच्च रिजोल्युसन भएको स्क्रिनयुक्त ल्यापटप किन्न प्रयास गर्नुहोस्, जसले तपाईंको मनोरञ्जन र सामाजिक सञ्जालको अनुभव थप उत्कृष्ट बनाउँछ ।  

ब्याट्री लाइफ

यदि तपाईं प्रायः यात्रा गर्दागर्दै ल्यापटप प्रयोग गर्नुहुन्छ भने ल्यापटपको ब्याट्री लाइफ अत्यन्त महत्त्वपूर्ण हुन्छ । लामो समयसम्म चल्ने ब्याट्री र राम्रो प्रदर्शन दिने ल्यापटप खोज्नुहोस्, ताकि तपाईंलाई पावर आउटलेटमा निरन्तर निर्भर रहन नपरोस् । म्यानुफ्याक्चररले दिएको ब्याट्री ब्याकअपमा मात्र विश्वास गर्नुको सट्टा, त्यसका रिभ्यु र प्रयोगकर्ताहरूको अनुभव ध्यानपूर्वक अध्ययन गर्नुहोस् ।