काठमाडौं । कार्यालयमा काम गर्ने क्रममा कम्प्युटर वा ल्यापटपमा ह्वाट्सएप चलाउनु सामान्य भइसकेको छ । व्यक्तिगत कुराकानीदेखि कार्यालयका महत्वपूर्ण सन्देशसम्म धेरै कुरा ह्वाट्सएप मै हुने भएकाले च्याटको गोपनीयता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
विशेष गरी कार्यालयमा आफ्नो छेउछाउ बसेका सहकर्मीले स्क्रिनमा देखिएको च्याट पढिदिने चिन्ता धेरैलाई हुन सक्छ । यस्तो अवस्थामा कम्प्युटरमा ह्वाट्सएप चलाउँदा च्याटलाई अरूको नजरबाट जोगाउन ब्राउजर एक्सटेन्सनको सहारा लिन सकिन्छ ।
यसका लागि Google Chrome मा उपलब्ध ‘WA Web Plus for WhatsApp’ एक्सटेन्सन प्रयोग गर्न सकिन्छ । यसले WhatsApp Web मा देखिने च्याटलाई ब्लर गर्ने सुविधा दिन्छ ।
कसरी ब्लर गर्ने ?
सबैभन्दा पहिले कम्प्युटरमा Google Chrome खोल्नुहोस् र Chrome Web Store मा जानुहोस् । त्यहाँ ‘WA Web Plus for WhatsApp’ खोजेर एक्सटेन्सनलाई Chrome मा थप्नुहोस् ।
एक्सटेन्सन इन्स्टल भएपछि आवश्यक परे ब्राउजर पुन: सुरु गरी WhatsApp Web मा लगइन गर्नुहोस् । त्यसपछि एक्सटेन्सनबाट उपलब्ध गोपनीयतासम्बन्धी विकल्प प्रयोग गर्न सकिन्छ ।
यसमा च्याट, मिडिया तथा अन्य संवेदनशील सामाग्रीलाई ब्लर गर्ने विकल्प उपलब्ध हुन्छ । त्यसपछि कम्प्युटरको स्क्रिनमा देखिएको WhatsApp च्याटलाई छेउबाट हेर्दा स्पष्ट रूपमा पढ्न कठिन हुन्छ ।
च्याट ब्लर मात्रै होइन, अरू सुविधा पनि
‘WA Web Plus for WhatsApp’ मा च्याटको गोपनीयता बढाउने अन्य विकल्पसमेत उपलब्ध छन् । एक्सटेन्सनमार्फत केही सामाग्री लुकाउने वा ब्लर गर्ने सुविधासँगै पासवर्ड सुरक्षाजस्ता विकल्प पनि प्रयोग गर्न सकिन्छ ।
तर यस्ता तेस्रो पक्षीय एक्सटेन्सन प्रयोग गर्दा त्यसले माग्ने अनुमति र गोपनीयता नीति भने ध्यानपूर्वक जाँच गर्नु आवश्यक हुन्छ । संवेदनशील कार्यालयीय वा व्यक्तिगत कुराकानी हुने भएकाले अपरिचित एक्सटेन्सन प्रयोग गर्नुअघि त्यसको विश्वसनीयता सुनिश्चित गर्नु राम्रो हुन्छ ।
मन नपरे हटाउन पनि सकिन्छ
एक्सटेन्सन प्रयोग गर्न आवश्यक नरहेमा Chrome बाट हटाउन सकिन्छ । त्यसका लागि Chrome को Extensions व्यवस्थापनमा गएर सम्बन्धित एक्सटेन्सन छनोट गरी ‘Remove from Chrome’ विकल्प प्रयोग गर्नुपर्छ ।
यसरी कम्प्युटरमा ह्वाट्सएप प्रयोग गर्दा वरपरका व्यक्तिको नजरबाट आफ्नो निजी च्याटलाई केही हदसम्म सुरक्षित राख्न सकिन्छ । यद्यपि, स्क्रिन गोपनीयताका लागि एक्सटेन्सनमा मात्र निर्भर नभई सार्वजनिक वा कार्यालयीय स्थानमा संवेदनशील कुराकानी खोल्दा आफैं पनि सावधानी अपनाउनु महत्वपूर्ण हुन्छ ।
आईसीटी समाचार