काठमाडौं । पठाओ नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा अलग भएका छन् । कम्पनीले बस्न्यातको नेतृत्व र दृष्टिकोणको उच्च प्रशंसा गर्दै बिदाइ गरेको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा बस्न्यातको नेतृत्वमा सानो पहलका रूपमा सुरु भएको सेवा आज नेपालको यातायात प्रणालीमा महत्वपूर्ण परिवर्तन ल्याउने स्तरसम्म पुगेको उल्लेख गरिएको छ । कम्पनीले उनको दृष्टिकोण र नेतृत्वलाई संस्थाको विकासमा महत्वपूर्ण आधारका रूपमा स्मरण गरेको छ ।
बस्न्यातले सन् २०१८ मा पठाओसँग सहकार्य गर्दै नेपालमा सेवा विस्तार गरेका थिए । प्रारम्भमा काठमाडौं केन्द्रित बाइक राइड सेवाबाट सुरु भएको प्लेटफर्म अहिले विभिन्न शहरहरूमा विस्तार भइसकेको छ ।
समयसँगै कम्पनीले फुड डेलिभरी र लजिस्टिक्स सेवा थप्दै आफ्नो दायरा फराकिलो बनाएको छ । यस प्लेटफर्मले हजारौँ युवालाई रोजगारी तथा स्वरोजगारका अवसर उपलब्ध गराउनुका साथै नेपालको डिजिटल तथा गिग अर्थतन्त्रको विकासमा समेत टेवा पुर्याएको छ ।
बस्न्यातको बहिर्गमनसँगै कम्पनीले नयाँ नेतृत्वमार्फत आगामी रणनीति अघि बढाउने तयारी गरेको छ । व्यवसायिक क्षेत्रसँगै उनी राजनीतिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन् । उनले गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
आईसीटी समाचार