काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सूचना तथा सञ्चार प्रविधि विभागको बैठकमा विभागीय प्रमुख युवराज दुलालले नीतिको मस्यौदा दाहाल र नेपाललाई बुझाएका हुन् ।
मस्यौदा बुझ्ने क्रममा पार्टी संयोजक दाहालले पार्टीका सही नीति तथा कार्यक्रम जनतामाझ स्थापित गर्न र फैलाइएका भ्रम चिर्न सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए । गलत एल्गोरिदम तथा भ्रामक सूचनाको प्रभावलाई चिर्न तथ्यपरक र सही सूचनाको प्रवाह आवश्यक रहेको उनको भनाइ थियो ।
पार्टीका सहसंयोजक नेपालले पुराना राजनीतिक दलहरूले इतिहासमा निर्वाह गरेका सकारात्मक तथा महत्त्वपूर्ण भूमिकालाई कमजोर देखाएर समाजमा गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए ।
त्यस्तै, पार्टी प्रवक्ता प्रकाश ज्वालाले समग्र पार्टी पङ्क्तिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए । सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीको संगठनात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
पार्टीका प्रमुख सचेतकसमेत रहेका विभागीय प्रमुख दुलालले नेकपालाई सूचना प्रविधिमैत्री बनाउँदै पार्टीका नीति, कार्यक्रम र विचारलाई प्रविधिको माध्यमबाट जनतामाझ पुर्याउन विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि मस्यौदामा प्रस्तावित नीति कार्यान्वयनमा जानेछ ।
आईसीटी समाचार