काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकास अत्यन्त तीव्र गतिमा भइरहेका बेला यसको सम्भावित जोखिम नियन्त्रणका लागि विकास प्रक्रियालाई केही समय सुस्त बनाउनुपर्ने बहस प्रविधि क्षेत्रमा चर्किएको छ ।
एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोदेईले एआई मोडेलको विकास र सार्वजनिक प्रयोगबीच पर्याप्त सुरक्षा परीक्षणका लागि समय छुट्याउनुपर्ने धारणा अघि सारेका छन् । उनले स्वतन्त्र सुरक्षा मूल्याङ्कनकर्तालाई एआई मोडेलमा निरन्तर पहुँच उपलब्ध गराएर जोखिम र सुरक्षा मापदण्डको परीक्षण गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
अमोदेईको प्रस्तावलाई ओपनएआईका सीईओ साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले समर्थन गरेका छन् । यसले एआईको तीव्र विकाससँगै त्यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रविधि उद्योगभित्रै गम्भीर बहस भइरहेको देखाएको छ ।
अमोदेईले एआईको विकास यही गतिमा अनियन्त्रित रूपमा अघि बढे आगामी ६ देखि १२ महिनामै एआई एजेन्टले इन्टरनेटको ठूलो हिस्सामाथि प्रभाव वा नियन्त्रण कायम गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि उनले एआई प्रविधिमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार चिकित्सा लगायतका क्षेत्रमा एआईले महत्वपूर्ण लाभ पुर्याउन सक्ने भएकाले प्रविधिको विकासलाई रोक्नुको सट्टा नवप्रवर्तन र सुरक्षाबीच सन्तुलन कायम गर्नु आवश्यक छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासको गति घटाउने प्रस्तावको विरोध गरेका छन् । उनले एआई तथा डाटा सेन्टरलाई लक्षित गरेर अनावश्यक रूपमा डर र षड्यन्त्र फैलाइएको दाबी गर्दै अत्यधिक सरकारी नियमनले अमेरिकाको प्रविधिगत प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउन सक्ने बताएका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि एआई कम्पनीका प्रमुखहरूले सरकारलाई आफूहरूमाथि नियमन गर्न आग्रह गर्नु आफैंमा असामान्य अवस्था भएको टिप्पणी गरेका छन् ।
यसैबीच अमोदेईले एआई क्षेत्रमा चीनको बढ्दो क्षमतालाई पनि सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरेका छन् । चीनलाई अत्याधुनिक एआई प्रविधिमा अगाडि बढ्नबाट रोक्न अमेरिकाले उन्नत एआई चिप तथा चिप उत्पादनमा प्रयोग हुने उपकरणमाथिको निर्यात प्रतिबन्ध कायम राख्नुपर्ने उनको तर्क छ ।
चीनले भने यस्तो धारणाको विरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनलाई लिएर डर सिर्जना गर्ने र टकराव बढाउने दृष्टिकोणले विश्वव्यापी एआई सहकार्यमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।
एआईको विकास, सुरक्षा र नियमनलाई लिएर अमेरिकी प्रविधि कम्पनी, सरकार तथा चीनबीच देखिएको फरक दृष्टिकोणले विश्वव्यापी एआई प्रतिस्पर्धा र शासनको बहसलाई थप पेचिलो बनाएको छ ।
आगामी सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने अपेक्षित भेटवार्तामा एआई शासन तथा प्रविधिसम्बन्धी विषयले समेत स्थान पाउने अनुमान गरिएको छ ।
आईसीटी समाचार